उपनिर्वाचनको परिणामबाट काँग्रेस आत्तिनुपर्ने अवस्था छैन : नेतृ राणा
धनगढी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले उपनिर्वाचनको परिणामलाई लिएर काँग्रेसले अत्तालिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीद्वारा प्रकाशित २०८० साल, भित्तेपात्रोको आज धनगढीमा उद्घाटन गर्नुहुँदै उहाँले लोकतान्त्रिक पद्धतिलाई बचाइराख्न मिडियाले सकारात्मक भूमिका निभाउन आवश्यक रहेको बताउनुभयो ।

उपनिर्वाचनमा काँग्रेसप्रति मतदाताको आकर्षण घटेको छैन भन्नुहुँदै उहाँले उपनिर्वाचनमा विजय हासिल नगर्दैमा काँग्रेसले निराश हुन नपर्ने बताउनुभयो । नेतृत्वको आलोचना गरेर पार्टी बलियो हुँदैन भन्दै उहाँले अब युवापुस्तालाई पार्टीका पक्षमा ल्याउने गरी काम गर्नुपर्ने बताउनुभयो । अहिले सामाजिक सञ्जाल, यूटुवको प्रयोग बढिरहेकाले सबै नेता कार्यकर्ताले सूचना प्रविधिसँग जोडिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य द्वय डा.रणबहादुर रावल, सुशीला मिश्र भट्ट, जिल्ला सभापति नारायण भट्ट, महिला संघका अध्यक्ष पुष्पा भट्ट, प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वाँर लगायतले बोल्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्