जनकपुरधामको ज्ञानकूप माविमा विद्यार्थीको चाप
जनकपुरधाम । जनकपुरधाम क्षेत्रकै पुरानो याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको पठन पाठनमा सुधार भएपछि अहिले विद्यालयमा भर्ना हुनका लागि विद्यार्थीहरूको चाप बढेको छ ।

नेपालकै सबैभन्दा पुरानो विद्यालयको रुपमा रहेको याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयमा संस्कृतका साथै अङ्ग्रेजी भाषामा पनि पठनपाठनको सुरुआत गरेपछि विद्यालयमा नामाङ्कनका लागि विद्यार्थीको अत्यधिक चाप बढेको विद्यालयका प्रधानाध्यापक संजय कुमार झाले बताउनुभयो ।

बिहान अङ्ग्रेजी माध्यममा पठनपाठन हुने गरेको छ भने दिउँसो नेपाली भाषामा । प्राचीन संस्कृत शिक्षालाई पनि विद्यालयले निरन्तरता दिएको छ । व्याकरण, ज्योतिष, वेद संस्कृत साहित्यको शिक्षालाई पनि निरन्तरता दिइएको छ ।
गुरुकुल शिक्षा लिन पहाडी जिल्लाबाट पनि विद्यार्थी आउने गरे पनि पछिल्लो समय केही कमी आएको छ । ज्ञानकूप संस्कृत विद्यालयले आधुनिक शिक्षा दिए पनि मौलिकतालाई मर्न दिएको छैन ।

४८ सिटमा कम्प्युटर विज्ञानको पढाई हुने गरेकाले विद्यार्थीको आकर्षण थप बढेर गएको छ । कक्षा ९ देखि कम्प्युटर विज्ञानको पठनपाठन हुने गरेको विद्यालयले जनाएको छ । विद्यार्थीहरूलाई घर लान तथा पुर्याउनका लागि जनकपुरधाम उपमहानगरपालिकाले प्रदान गरेको बसले सेवा दिने गरेका छन् ।
वातावरणीय हिसाबले पनि निक्कै शान्त क्षेत्र रहनुका साथै सुविधा सम्पन्न भवन, छात्रावास, ल्याब तथा कम्पाउन्ड बाल एवं खेलकुद मैदान भएकाले विद्यार्थी तथा अभिभावकको रोजाई ज्ञानकूप संस्कृत माध्यमिक विद्यालय परिरहेको छ ।
नेपालका कतिपय विशिष्ट व्यक्तिहरूले यसै विद्यालयको छात्रावासमा बसेर शिक्षा हासिल गरेका थिए । अहिले नेपाल सरकार तथा प्रदेश सरकारका ठूला ओहदामा ज्ञानकूपका विद्यार्थी पुगेका छन् ।








प्रतिक्रिया राख्नुहोस्