समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताउनुभएको छ ।

उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएता पनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउनुभयो ।
नयाँ जनादेशसहित गठन भएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सेवा प्रवाह, सुशासन, विकास निर्माण एवं अर्थतन्त्रको रूपान्तरण र सुदृढीकरणका लागि नीतिगत, संरचनागत तथा कार्यगत सुधारका विषयलाई महत्त्व दिइएको उहाँको भनाइ थियो ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले सरकार निजी क्षेत्रसँगको सहकार्यमा अगाडि बढ्न चाहेको बताउँदै निजी क्षेत्रका विषयगत विधाबाट नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका लागि एकीकृत सुझाव दिन व्यवसायीलाई आग्रह गर्नुभयो ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, मुख्यसचिव शङ्करदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्श, गैरआवासीय नेपाली सङ्घ, साना तथा घरेलु उद्योग महासङ्घ लगायत निजी क्षेत्र सम्बद्ध सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिका साथै निजी क्षेत्र सम्बद्ध व्यक्तित्वको उपस्थिति थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्