झापामा सस्तो जग्गा मिलाइदिने भन्दै ३२ लाख लिएर फरार चार लुटेरा पक्राउ

भद्रपुर, झापा । झापाको अर्जुनधारास्थित नयाँ बसपार्कमा सस्तो मूल्यमा जग्गा दिलाइदिन्छु भन्दै एक महिलाबाट ३२ लाख रुपैयाँ लिएर फरार भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
चैत ३० गते अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्कनजिकै दुई कट्ठा जग्गा सस्तो दरमा बिक्रीमा भइरहेको र खरिद गर्न आउनु भनी मोरङ जिल्ला उर्लाबारी नगरपालिका–४ बस्ने विष्णुमाया सापकोटा सुवेदीलाई बोलाएर उहाँबाट रकम लिएर फरार रहेका रामेछाप जिल्ला देउराली गाउँपालिका–२ घर भई भक्तपुर बस्ने ३९ वर्षीय राजेश श्रेष्ठ, पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका–४ घर भई हाल काठमाडौँको गर्जुधारा बस्ने ५२ वर्षीय जनक रेग्मी, मोरङ जिल्ला बेलबारी नगरपालिका–६ घर भई हाल झापा मेचीनगर नगरपालिका–६ बस्ने ५५ वर्षीय रणबहादुर पोखरेल र झापा कमल गाउँपालिका–५ बस्ने ५२ वर्षीय विजय राईलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयो ।
विष्णुमायालाई विजयले जग्गा किन्न झापा बोलाएका थिए । तर, विजयले जग्गा खरिदबिक्री गर्ने बैना कागजात नबनाई आफ्नो ३२ लाख रुपैयाँ लिएर त्यहाँबाट फरार भएको भन्दै पीडितले तत्काल इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिनुभएको थियो ।
प्रहरीमा उजुरी परेसँगै दुईजना इलामतर्फ भागेको सूचना पाए लगतै झापा प्रहरीले जिल्ला प्रहरी कार्यालय इलामसँग सहकार्य गरी इलाम नगरपालिका–७ पुरानो बसपार्कस्थित देउराली होटेलमा लुकीछिपी बसेको अवस्थामा राजेश र जनकलाई १४ लाख ६५ हजार नगदसहित पक्राउ गरेको थियो भने विजय र रणबहादुरलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–११ स्थित थापा होटेल एन्ड लजमा लुकीछिपी बसेको अवस्थामा नगद १३ लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान अघि बढाइएको डिएसपी रिजालले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्