राप्ती लोकमार्ग सुधारको माग गर्दै हस्ताक्षर सङ्कलन
सल्यान । राप्ती लोकमार्ग अन्तर्गत दाङ, सल्यान, रुकुम सडकखण्ड सुधारको माग गर्दै सल्यानका युवाहरूले हस्ताक्षर सङ्कलन अभियान सुरु गरेका छन् । पटक पटक बजेट छुट्टाएर पनि काम नभएको र सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको भन्दै युवाहरूले हस्ताक्षर सङ्कलन अभियान सुरु गरेका हुन ।

उनीहरूले लोकमार्ग सुधारका लागि सकारात्मक अपेक्षासहित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक डिभिजन कार्यालय दाङ घोराहीमा बुझाउने गरी हस्ताक्षर सङ्कलन अभियान चलाएको समृद्ध सल्यान निर्माण अभियानका संयोजक ध्रुवराज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष गरी कपुरकोट चोरखोला सडक जीर्ण बन्दै गएको र दुर्घटनाको जोखिम समेत बढेकाले तत्काल सुधार गर्न शुक्रवारदेखि हस्ताक्षर अभियान शुरु गरिएको हो ।
प्रतिनिधिमूलक हस्ताक्षर सङ्कलन गरेर ५ बुँदे सल्यानीको ऐक्यबद्धतासहित प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक डिभिजन कार्यालयमा डेलिगेसन लिएर जाने बताउनुभयो ।
सडक जीर्ण भएकै कारण जिल्लाको पर्यटकीय क्षेत्रमा असर पर्नुका साथै पर्यटकहरू आउन छोडेको अभियन्ता वलीको भनाई छ ।
राप्ती लोकमार्ग तीन जिल्लाको लाइफलाइन सडकका रुपमा रहेकाले सुधार गर्ने काम चलेको भए पनि त्यसले साकार रूप पाउन सकेको छैन । सल्यानका नागरिक र स्थानीय बासिन्दाले पनि तत्काल राप्ती लोकमार्ग बनाउनुपर्नेमा जोड दिँदै आइरहेका छन् ।
अहिले राप्ती लोकमार्ग सुधारका लागि १८ वटा ठेक्का लागेको छन् । जसमध्ये ५ वटा ठेक्का अहिले पनि अलपत्र परेको सडक डिभिजन कार्यालय दाङले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्