कर्णालीका बालबालिकालाई ‘सांसद’ देखि प्रधानमन्त्री’ सम्म बनाइयो

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लाका बालबालिकाको क्षमता विकास गर्नुका साथै नेपालको संसदीय व्यवस्थालाई बुझाउन बाल संसद् अभ्यास कार्यक्रम आयोजना गरिएको छ ।
संघीय बाल संसद् कार्यक्रम अन्तर्गत संघीय संसद् सचिवालयले सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजना गरेको नमूना संसद् अभ्यास कार्यक्रममा कर्णालीका बालबालिकाले प्रधानमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्ष दलका सांसदको भूमिका निभाउनु भएको हो ।

उहाँहरूले सदनमा कर्णालीमा रहेको छाउपडी जस्ता कुप्रथा, बालविवाह, विकास निर्माणका कार्यहरू, देशको समसामयिक राजनीतिक घटनाक्रम, बालअधिकारलगायतका विषयमा आआफ्ना धारणा तथा प्रश्नहरू राख्नु भएको थियो । सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रिपरिषद् गठन गरिएको थियो ।
बाल संसद् अभ्यासका प्रशिक्षक रमेश पौडेल र वीरेन्द्रबहादुर कार्कीले सदनमा सहभागीहरूले मर्यादित भएर आफ्ना कुरा कसरी राख्ने, सत्तापक्ष र विपक्षीबाट प्रश्न आउँदा कसरी जवाफ दिनेलगायतका कुरा सिकाउनु भएको थियो । संसदीय व्यवस्थामा जनताको नाममा प्रवाह हुने सेवाका बारेमा जानकारी दिन बाल संसद् अभ्यासले धेरै सहयोग पुग्ने संघीय संसद् सचिवालयका सचिव डा. भोजराज पाण्डेको भनाइ छ । उहाँले नमूना बालबालिका संसदीय अभ्यास अत्यन्तै उपलब्धिमूलक तथा बालबालिकालाई नेतृत्व विकास गर्ने एउटा महत्वपूर्ण कार्यक्रम भएको जनाउनु भयो ।

चार दिवसीय नमूना बाल संसद् अभ्यास कार्यक्रम मार्फत नेपालको संसदीय अभ्यासबारे जानकारी गराउने तथा नेतृत्व विकास गर्ने उद्देश्य रहेको संसद् सचिवालयका उप–सचिव बबिता मिश्रले बताउनु भयो । उहाँले कर्णालीबाट शुरु भएको नमूना बाल संसद् अभ्यास कार्यक्रम देशका अन्य प्रदेशमा समेत सञ्चालन गरिने जानकारी दिनु भयो ।
नमूना संसद् अभ्यास कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका २१ विद्यालयबाट ५० जना बालबालिकाहरूको सहभागिता रहेको कार्यक्रमका सह आयोजक युनिसेफका वरिष्ठ सामाजिक विशेषज्ञ ठाकुर ढकालले जानकारी दिनुभयो । बालबालिकालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ तथा भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि नमूना संसदीय अभ्यास प्रभावकारी रहेको मित्र समाजका टोली प्रमुख विनयदिल लामाले बताउनुभयो ।
सहभागीहरूका अनुसार यस कार्यक्रम मार्फत राज्य, देशको संविधान, सरकारको प्रशासनिक तथा राजनीतिक प्रणालीहरूका बारेमा विस्तृत ज्ञान लिन पाएको बताउनुभयो । कार्यक्रममा संसदीय अभ्यास गर्दै गर्दा आफूमा भाषण कला, आत्मबल तथा राज्य र राजनीतिक ज्ञान–सिपको विकास भएको महसुस भएको कालिकोटबाट आउनु भएकी विद्यार्थी कल्पना आचार्यको भनाइ थियो ।









प्रतिक्रिया राख्नुहोस्