नेपाली भूमिमा विद्युत् लाइन बिस्तार गर्न भारतीय सीमा सुरक्षा बलको अवरोध

कञ्चनपुर । नेपाली भूमिमा विद्युत् लाइन बिस्तार गर्दा भारतीय सीमा सुरक्षा बल ( एसएसबी )ले अवरोध गरेको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर –८ स्थित कालो पुलदेखि पचुइसम्मको हुलाकी सडकखण्डमा नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रले विद्युत् लाइन बिस्तार गर्न पोल गाड्दा एसएसबीले अवरोध गरेको हो ।
यसअघि खेत भएर पोल लगिएकोमा त्यसलाई व्यवस्थापन गर्न हुलाकी सडक किनारै किनार हुने गरी पोल गाडिरहेको अवस्थामा भारतीय एसएसबी आएर माथि कुरा गर्नुपर्छ भन्दै काममा अवरोध गरेको नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीले बताउनु भयो ।
चालु आर्थिक वर्ष २०७९।०८० भित्र काम सक्ने गरी जगदम्बा बेताल कन्स्ट्रक्सन धनगढीले पोल गाड्ने ठेक्का पाएको थियो ।
एसएसबीको अवरोधका कारण लाइन बिस्तारको काम ठप्प छ । सोही क्षेत्रको करिब १७ सय मिटर हुलाकी सडकखण्डको स्तरोन्नतिमा समेत भारतीय पक्षले विगत ३ वर्षदेखि अवरोध सिर्जना गर्दै आएको छ । जसका कारण हुलाकी सडक स्तरोन्नतिको काम समेत अगाडि बढ्न सकेको छैन । उक्त क्षेत्रको सडकखण्ड दशगजामा पर्ने भारतीय पक्षको कुतर्क छ । यस विषयमा के भएको रहेछ, त्यो बुझेर निकास निकालिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्