जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान

जुम्ला । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरिएको छ ।
नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलनका क्रममा यहाँका आठै स्थानीय तहका अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरेको हो ।
समाजमा विद्यमान जातका आधारमा हुने विभेदलाई अन्त्य गरी सभ्य समाज निर्माणका लागि अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरिएको दलित मुक्ति मोर्चाका नवनिर्वाचित अध्यक्ष चन्द्र बहादुर नेपालीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दलित एकताको कमी, मुख दर्शक राज्य भएर अन्तरजातीय विवाह गरेकै जाजरकोटका प्रेम विक जस्ता दलित युवाको बीभत्स हत्या भयो । राज्यले अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नगर्नु, अन्तरजातीय विवाह गरेकै कारण हत्या गरिएका पीडितले न्याय नपाउनु लगायतका कारण बढ्दो जातीय विभेद् बढ्दो छ । त्यस्ता गतिविधि रोक्न हामीले प्रोत्साहन गरेका हौँ ।”
तातोपानीका अम्रिते नेपालीको जोडी, मयालु सार्की जोडी, चन्दननाथका पुष्पा विष्ट, तिलाका जनक परियार गुठिचौरका चन्द्र नेपालीलगायत अन्तरजातीय विवाह गर्ने जुम्लाका ६० जोडीलाई दोसल्ला, प्रशंसा पत्रसहित सम्मान गरिएको हो ।
कार्यक्रममा दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधि र कर्मचारीहरूलाई समेत सम्मान गरिएको छ ।
दलित माथि हुने दमन, शोषण र उत्पीडन अन्त्य गर्नकै कारण माओवादीले आन्दोलन गरेको भन्दै अझै समाजमा विभेद कायम रहेकोले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको माओवादी केन्द्र जुम्लाका इन्चार्ज नरेश भण्डारीले बताउनुभयो ।
कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद .रणसिंह परियारले दलितले बनाएको घरमा बस्ने तर पानी नखाने प्रवृत्ति अन्त्य गर्न नीति कार्यान्वयनमा निर्मम बन्नुपर्नेमा जोड दिनुभयो ।
साथै, दलित मुक्ति मोर्चा जिल्ला समन्वय समितिको जिल्ला भेलाले अध्यक्ष चन्द्रबहादुर नेपाली र सचिव पुन्न बहादुर वि.क.को नेतृत्वमा ४५ सदस्यीय जिल्ला कार्यसमिति गठन समेत गरेको छ ।
सम्मान पाउँदा खुसी
तिला गाउँपालिका वडा नंं. ९ निवासी रमिता बोहोराले गुठिचौर गाउँपालिका–५ का उमेश दमाईसँग प्रेम विवाह गर्नुभएको थियो । २०६६ सालमा उमेशसँग विवाह गरेकी बोहोरालाई अन्तरजातीय विवाह गरेकै कारण समाजमा स्थापित हुन मुस्किल थियो । माइतीले पनि स्वीकार गरेका थिएनन् ।
जातका आधारमा विभेद् गर्नु अपराध हो भन्ने बुझेका रमिता र उमेशले मन मिलेर विवाह गरे । तर उपल्लो जातका समुदायले अझै अन्तरजातीय विवाह गर्नु जघन्य अपराध जस्तै ठान्छन् । जसका कारण रमितलाई दलित युवासँग विवाह गरेका कारण समाजमा स्थापित हुन मुस्किल थियो । कसैको साथ भरोसा नपाउँदा कहिलेकाहीँ अन्तरजातीय विवाह गर्नु गलत नै भयो की भन्ने सोच्नुहुन्थ्यो ।
तर बिहीबार आयोजित एक भव्य कार्यक्रमका बीच रमिता बोहोरा र उमेश परियार अन्तरजातीय विवाह गरेकै कारण सम्मानित भएपछि निकै खुसी हुनुहुन्छ । सम्मानले जातका आधारमा हुने विभेद् अन्त्य गर्न अन्तरजातीय विवाह गर्नु सफल विद्रोह सावित भएको उमेशले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सम्मानसँगै जातीय विभेदका घटनासँग संलग्न व्यक्तिलाई कारबाही गर्न जरुरी छ । सरकारले नीति बनाउने कार्यान्वयनमा राजनीतिकरण हुने प्रवृत्तिले समाजमा विभिन्न खाले विभेद बढेका छन् । सचेतना जरुरी छ ।”
रमिता र उमेशजस्तै अन्तरजातीय विवाह गरेर विभेद अन्त्य गर्न भूमिका खेलेको भन्दै सम्मानित हुने ६० जोडिनै खुसी भएका छन् । सम्मानसँगै राज्य निर्माण गरेका नीतिको कार्यान्वयनमा कठोर बन्नुपर्ने, दलित हक अधिकार व्यवहारमा पूर्ण कार्यान्वयन हुनुपर्नेमा उहाँहरूको जोड छ ।








प्रतिक्रिया राख्नुहोस्