तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूसँग अन्तरक्रिया

काठमाडौँ । वैदेशिक रोजगार बोर्ड सचिवालयले वैदेशिक रोजगारसँग सम्बन्धित पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । 

रौतहटको चन्द्रपुरमा आज भएको कार्यक्रममा अन्य प्रदेशका तालिम प्रदायक संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । बोर्ड सचिवालयले मधेश प्रदेशमा तालिम प्रदायक संस्थाहरूसँग अन्तरक्रिया पहिलो पटक गरेको हो ।

पछिल्लो समय मधेश प्रदेशबाट वैदेशिक रोजगारीमा जाने र दुर्घटना पर्नेको सङ्ख्यामा वृद्धि भएकाले मधेश प्रदेशमा रहेर अभिमुखीकरण तालिम दिने संस्थाहरूलाई केन्द्रित गरि यो कार्यक्रम आयोजना गरिएको बोर्ड सचिवालयले जनाएको छ । 

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले अभिमुखीकरण तालिम गुणात्मक भए वैदेशिक रोजगारी सुरक्षित हुने भन्नुहुँदै व्यावसयीक समस्या बुझ्न र समाधान गर्न यो छलफल आयोजना गरिएको बताउनुभयो ।

सचिवालयका निर्देशक ,प्रशिक्षण अध्ययन एवं तालिम शाखा प्रमुख सिता दुवाडीले अभिमुखीकरण तालिम प्रभावकारी बनाए सिर्जिएका धेरै समस्या हामी आफैबाट समाधान हुने भन्नुहुँदै नकारात्मक सोच र समस्या राखेर मात्र तालिम दिने सोच नबनाउन आग्रह गर्नुभयो । 

तालिम प्रदायकहरूकै समस्या सम्बोधन गर्न यो कार्यक्रम आयोजना गरिएको भन्नुहुँदै उहाँले आगामी दिनमा गुणात्मक परिणामका लागि जिम्मेवार बन्नसमेत सहभागीहरूलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा वैदेशिक रोजगार विभागका निर्देशक कृष्ण प्रसाद भुसालले सबैभन्दा बढी मधेश प्रदेशका घटनाहरू आउन थालेकाले तालिमप्रतिको आफ्नो व्यावसायिकतामा नचुक्न र इमान्दार हुन आग्रह गर्नुभयो । “अब  अभिमुखीकरण तालिमको अनुगमन प्रदेशमा रहेका श्रम कार्यालयबाट हुनेछ”, उहाँले भन्नुभयो, “आप्रवासी श्रोत केन्द्र र स्थानीय पालिकाको भूमिका पनि बढ्दैछ ।”  कतिपय अव्यवहारिक कुराहरूलाई संशोधन गर्न लागिएको पनि उहाँले बताउनुभयो । 

त्यस्तै, वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासङ्घका अध्यक्ष राजाराम गौतमले शुल्क परिमार्जनको विषय अघि बढेपनि हाम्रै नैतिकताका कारण हुन नसकेको बताउनुभयो। उहाँले बजारमा नकारात्मक टिप्पणी बढी भएकाले यसलाई चिर्न तालिम प्रदायकहरूको दायित्व भएको बताउनुभयो । 

वैदेशिक रोजगारीमा जानुपूर्व आप्रवासी श्रोत केन्द्र र पालिकाले जानकारी गराएर तालिम लिन आउने अहिलेसम्म नभएकाले आगामी दिनमा तालिम अनिवार्य र गुणात्मक बनाउन स्थानीय सरकार र स्थानीय तहमा काम गर्ने संस्थाहरूलाई अपनत्व लिन उहाँले आग्रह समेत गर्नुभयो ।

सहभागी तालिम प्रदायक संस्थाका प्रतिनिधिहरूले वैदेशिक रोजगार विभागको भूमिका पनि व्यवसायीको समस्या बुझ्ने र समाधान गर्ने खालको हुनुपर्ने धारणा राख्नुभएको थियो । विभागमा तत्काल रेस्पोन्स गर्ने प्रविधियुक्त टिम हुनुपर्ने उहाँहरूले माग समेत गर्नुभयो । 

कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफ्ले,  नगरका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी,  श्रम रोजगार तथा रोजगार कार्यालय जनकपुरका प्रमुख मेघनाथ धिमाल , सामाजिक विकास मन्त्रालय मधेश प्रदेशका शाखा अधिकृत सरोज कुमार यादवलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button