बुटवलमा कुकुरहरूको बन्ध्याकरण शुरु

रुपन्देही । बुटवलमा कुकुरहरूको बन्ध्याकरण शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरूको सङ्ख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो ।
मङ्गलवार बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा ३ दिने अभियान शुरु भएको हो । अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरूको बन्ध्याकरणले कुकुरको सङ्ख्या वृद्धि रोकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।
उहाँले कुकुर पाल्नेहरूले सार्वजनिक स्थलमा दिसा पिसाब गराउनेलाई कारबाही गर्ने र आगामी वर्षदेखि बुटवलमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने व्यवस्था गर्ने कानून बनाइरहेको बताउनुभयो । सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरूको सङ्ख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले बुटवलका १९ वटै वडाका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिने बताउनुभयो । बन्ध्याकरणपछि बुटवलमा सामुदायिक कुकुरहरूको सङ्ख्या वृद्धि रोकिने उहाँले बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका पशुपक्षी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडेले बुटवलभित्र कुकुरको सङ्ख्या बढ्दै गएकाले सङ्ख्या वृद्धि हुन नदिन बन्ध्याकरण गरिएको बताउनुभयो । उहाँले ३ दिनसम्म चल्ने बन्ध्याकरण कार्यक्रममा बुटवलका सबै वडाहरूबाट कुकुर सङ्कलन गरिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्