चुरेको विनाश तथा व्यवस्थापनमा एकीकृत प्रयासको खाँचो : विज्ञहरू
जनकपुरधाम । मधेश प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहा र मधेश क्षेत्रका कृषि विज्ञहरूबिचको छलफल सम्पन्न भएको छ ।
कार्यक्रममा विज्ञहरूले तराई मधेशमा रहेका विभिन्न समस्या समाधानका लागि एकीकृत रूपले अगाडि बढ्न मधेश प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

तराई मधेशमा रहेको चुरे भावर विनाश, वन जङ्गलको अनियन्त्रित कटानी तथा अतिक्रमण, वन पैदावारको दुरुपयोग, अनियन्त्रित बालुवा, गिट्टी तथा ढुङ्गाको उत्खनन, वर्षेनी बाढी प्रकोप, सुख्खापन, खडेरी, घट्दो सतहमुनिको पानी, कुवा र इनारको सुख्खापन, बन्द हुन लागेको चापाकलको पानी, वर्षेनी बढ्दै गरेको तापक्रम तथा हजारौँ बिगाहामा भइरहेको मरुभूमिकरण जस्ता समस्याका कारण र समाधानबारे विस्तृत छलफल भएको छ ।
समस्याहरूको निराकरणका लागि छुट्टै निकाय गठन गरी कार्यक्रम बढाउन विज्ञहरूले सल्लाह दिनुभएको थियो । हाल यसका लागि राष्ट्रपति चुरे संरक्षण विकास समिति, वन तथा वातावरण मन्त्रालय, सिँचाई मन्त्रालय, कृषि मन्त्रालय, स्थानीय सरकारबीच समन्वय आवश्यक भएको उहाँहरूको भनाइ थियो ।

आगामी दिनमा त्यसका लागि कन्सेप्ट नोट बनाउने, राष्ट्रिय योजना आयोग/प्रदेश नीति आयोगमा छलफल गर्ने, संसदमा प्रस्तुत गर्ने, संघीय/प्रदेश सरकार मन्त्रीपरिषदमा छलफल गर्ने, ऐन, विधेयक, नियमावली तथा कार्यविधि बनाउन पहल गर्ने प्रतिबद्धता सबैले जाहेर गर्नुभएको थियो ।
समस्याको समाधानका लागि सम्पूर्ण सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने आवश्यकतामा सहभागीहरूले जोड दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्