तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिने माओवादी केन्द्रकाे निर्णय

काठमाडाैं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय, पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिमा जोड दिँदै अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

बैठकबाट राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको जानकारी दिनुहुँदै पार्टी प्रवक्ता महराले गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्नका लागि राष्ट्रिय सहमति आफ्नो पार्टीको जोड रहेको बताउनुभयो । 

प्रवक्ता महराले फागुन १२ गते भित्रै राष्ट्रपति सम्बन्धमा पार्टीको धारणा सार्वजनिक हुने र त्यस क्रममा विभिन्न दलहरूसँगको छलफललाई पार्टीले जारी राख्ने पनि बताउनुभयो ।

यसअघि पनि विभिन्न फोरमहरूमा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिकासाथ अघि बढ्नुपर्ने धारणा राख्दै आएको छ । फागुन २५मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।     

                      

प्रतिक्रिया राख्नुहोस्

Back to top button