सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ ।
बैठकको विशेष समयमा सांसद चन्द्रकान्त भण्डारीले हाम्रो मुलुकको शिक्षा नीति मुलुकको प्रकृति र स्रोत–साधनसँग जोड्न नसकिएको धारणा राख्दै शिक्षा र स्वास्थ्य उपचारलाई सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद योगेश कुमार भट्टराइले नेपालमा सबैभन्दा धेरै सडक दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था देखिएको भन्दै सडक दुर्घटना न्यूनीकरणमा सरकारले उचित ध्यान दिनुपर्ने बताउनुभयो ।
यातायात व्यवस्था विभागले दिएको वर्क परमिट ठिक छन् की छैनन् भनेर हेर्ने अर्को नियामक निकाय नभएकाले पनि यस्तो जोखिम बढिरहेको भन्दै सांसद भट्टराइले यातायात व्यवस्था ऐनको संशोधन, रोड सेफ्टी एक्सन प्लान ड्राफ्ट लगायतका कामप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद पूर्णबहादुर घर्तीले मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई दिइने अनुदान वास्तविक किसानसम्म नपुगेको भन्दै किसानका लागि अनुदान भन्दा पनि सहुलियत ऋण दिनुपर्ने, उनीहरूले उत्पादन गरेको वस्तु बिक्री गर्नका लागि बजारको व्यवस्थापन गरिनुपर्ने लगायतका धारणा राख्नुभयो ।
बैठक सुरु भएलगत्तै सांसदहरुले संविधानवादको रक्षा, विधिको शासन र सर्वोच्च अदालतलाई पूर्णता दिने, नयाँ बसपार्कमा भएको घटना, सार्वजनिक बिदा, राष्ट्रपतिको सवारीमा सडकमा सर्वसाधारणले दुःख पाएको लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो ।
यसअघि, शून्य समयमा सांसदहरुले प्रादेशिक अस्पतालमा डाक्टरको अभाव, विकास निर्माणमा भइरहेको ढिलाइ, स्वास्थ्य बीमाको प्रभावकारिता, कृषक मल अभाव, जङ्गली हात्तीको आतङ्क लगायतका विषयमा सदनको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै, सांसदहरुले सर्वसाधारणहरू लघुवित्तको शोषणमा परिरहेको, रुग्ण सरकारी स्वामित्वका कलकारखाना तत्काल सञ्चालनमा ल्याउन, भाषा आयोगका समस्या, लगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसद प्रेम सुवालले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्