रेलमार्गमा पर्ने रेल्वेको जग्गा संरक्षण गर्न अख्तियारको आदेश

बारा I अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौँले बारा र पर्साका जिल्ला प्रशासन र जितपुर सिमरा उपमहानगरपालिकालाई रेल्वेको जग्गा संरक्षण गर्न आदेश दिएको छ ।
आयोगले एक पत्र लेख्दै नेपाल सरकारको रक्सौल अम्लेखगंज -रेलमार्गमा पर्ने १ हजार ७ सय ४९ बिगहा जग्गा अतिक्रमणमा परेकाले संरक्षण गर्न अनुरोध गरेको छ ।अतिक्रमण गरिएका जग्गाहरूमध्ये वीरगन्जको पावर हाउस चोक देखि पूर्व पश्चिम राजमार्गको पथलैयासम्म २२ किलोमिटर खण्डको ६६ फिट चौडा जग्गा विभिन्न व्यक्ति र उद्योगको कब्जामा रहेको छ ।
कतिपय अतिक्रमणकारीले नापीबाट प्रमाणित गराएर रेल्वेको जग्गा व्यक्तिगत बनाइसकेका छन् । परवानीपुर ,जीतपुर र सिमरा क्षेत्रमा रेल्वेको जग्गामा बस्ती नै बसेकाे छ ।
तत्कालिन नेपाल सरकारले भारतको रक्सौलमा समेत तात्कालिक बेलायती सरकारसँग सन् १९२७ जुन १९ मा खरिद गरेको १६ बिगाहा १ कट्ठा ४ धुर जग्गा समेत अतिक्रमणमा परेको समाचार सञ्चार माध्यममा आएकाले त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केही दिन अघि रेल्वेको १७ सय बिगाहा जग्गा अतिक्रमित भन्ने शीर्षकमा समाचार प्रकाशन भएको थियो । रेल्वेको जग्गा संरक्षण गरी अतिक्रमण हुनबाट बचाउन र सम्बन्धित मन्त्रालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन ,२०४८ को दफा २८ को उपदफा (१) बमोजिम लेखि पठाउँन अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्