तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवसायीले मनपरी भाडा उठाएको गुनासो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पश्चिमी भेगमा सञ्चालन हुने आमा याङ्ग्री यातायात प्रालि, सिन्धु हेलम्बु यातायात प्रालि र सिन्धु हेलम्बु प्रालीले दिने सेवाप्रति सेवाग्राहीले असन्तुष्टि जनाएका छन् । 

मेलम्ची, हेलम्बु, इन्द्रावती, पाँचपोखरी लगायतका क्षेत्रमा चल्ने सार्वजनिक यातायातका साधनहरूले पछिल्लो समय मनलाग्दी भाडा लिने गरेको भन्दै गुनासो सुनिन थालेको छ । 

गन्तव्य स्थानसम्म तोकिएको समयमै नपुर्‍याउने, सुपर भन्ने तर लोकल यात्रु चढाउने, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने र भाडा बढी लिने गरेको मेलम्ची ९ ज्यामिरेका ठाकुरनाथ कुइँकेलले गुनासो गर्नुभयो । 

यातायातका साधनहरूमा भाडा सूचि नराख्ने र छोटो दुरीमा समेत बढी भाडा लिन थालेको मेलम्ची ६ तालामाराङका दिपक देउजाले बताउनुभयो । उहाँले मेलम्चीदेखि तालामाराङ सम्मको ६ किलोमिटर रुटको भाडा ६० रुपैयाँ भएकोप्रति समेत सामाजिक सञ्जालमार्फत  आपत्ति जनाउनुभयो । 

यो विषयमा आमा याङ्ग्री यातायात प्रालिका अध्यक्ष कान्छाराम श्रेष्ठसँग बुझ्दा गाउँ गाउँमा सुपर गाडी सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले निश्चित भाडा तोकेर स्थानीय तह, प्रहरी कार्यालयलगायत सम्बन्धित निकायमा समेत जानकारी गराइएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले अहिले परीक्षणका लागि गाउँ गाउँमा सुपर गाडी चलाएका छौँ, बसमा भाडा सूचि पनि अनिवार्य गरेका छौँ, यसको जानकारी सम्बन्धित निकायलाई पनि गराएका छौँ” । 

माघ १ गतेदेखि परीक्षणको लागि सुपर गाडी छोडेको जानकारी दिँदै तामाङले अब छिट्टै छलफल गरेर एउटा निष्कर्षमा पुग्ने बताउनुभयो । 

तोकिएको भन्दा धेरै भाडा नतिर्न र कुनै समस्या भएमा समितिमा जानकारी गराउन समेत समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button