तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा मङ्सिर महिनामा सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु, ७४ घाइते

चितवन । चालु आर्थिक बर्ष २०७९/०८० को मङ्सिर महिनामा सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु भएको छ भने ७४ जना घाइते भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार एक महिनाको अवधिमा ४७ वटा सवारी दुर्घटनाबाट उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो । 

यी दुर्घटनामध्ये सबैभन्दा भित्री सडकमा दुर्घटना र मानवीय क्षति भएको पाइएको छ । जसअनुसार मंसिरमा भित्री सडकमा २३ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु र ४१ जना घाइते भएका छन् । 

यसैगरी, पूर्व पश्चिम लोकमार्गमा ९ वटा सवारी दुर्घटनामा २ जनाको मृत्यु र १५ जना घाइते, नारायणगढ मुग्लिन सडक खण्डमा ७ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १० जना घाइते, पृथ्वी राजमार्गमा ३ वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीनजना घाइते र शहरी सडकखण्डमा पाँच वटा सवारी दुर्घटना भएकोमा दुई  जनाको मृत्यु र पाँच जना घाइते भएको कार्यालयले जानकारी दिएको छ । 

कार्यालय प्रमुख धर्मबहादुर अधिकारीले अघिल्ला महिनाभन्दा मङ्सिर महिनामा दुर्घटनाको सङ्ख्यासँगै भौतिक तथा मानवीय क्षतिको सङ्ख्या कम भएको बताउनुभयो । 

“हामीले यो महिना सवारी यान्त्रिकीकरण परीक्षण, सचेतना कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढायौँ, उहाँले भन्नुभयो, “यसअघिका महिनामा चाडबाडमा सवारीको चाप र बर्षायाम भएकोले पनि दुर्घटना र क्षति बढी थियो ।” भित्री सडकमा चालकको लापरवाही, मापसे, साघुंँरा, कच्ची सडक र ट्राफिक प्रहरीको पहुँच कम हुने भएकोले पनि दुर्घटनाको सङ्ख्याको साथै मानवीय क्षति अन्य सडकमा भन्दा  बढेको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button