तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइने

सुर्खेत । खाद्यान्न अभाव झेल्दै आइरहेको कर्णालीमा अब वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । 

विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहकारीमार्फत वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । 

पहिलो चरणमा कर्णालीका सुर्खेत र दैलेखमा वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरिएको आज सुर्खेतको वीरेन्द्रनगरमा विश्व खाद्य कार्यक्रमले आयोजना गरेको कार्यक्रममार्फत जानकारी दिइएको छ । 

यसअघि सरकारले चाडपर्वका समयमा मात्र सर्वसाधारणलाई दैनिक उपभोग गर्ने दाल, चामल, नुन, चिनी, लगायतका खाद्य वस्तुहरू बजार भाउभन्दा कम मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेशन मार्फत विक्री वितरण गर्दै आइरहेको थियो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रादेशिक कार्यालयले स्थानीय उत्पादनलाई नै बढी प्रोत्साहन दिने गरि पहिलो चरणमा सुर्खेतको रामघाट स्थित भेरीपशु तथा कृषि सहकारी र दैलेखको नारायण नगरपालिकास्थित शतप्रतिशत प्रगतिशील सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । 

कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले स्थानीय कृषिजन्य वस्तुको उत्पादन वृद्धि गरी रोजगारीसँगै निर्यातलाई प्रोत्साहन गर्नु सहुलियत मूल्य पसल मुख्य उद्देश्य रहेको बताउनुभयो । 

उहाँले संघ, प्रदेश, स्थानीय तह र सरोकारवाला निकायको समन्वय तथा सहयोगमा कर्णालीमा रहेको खाद्य असुरक्षा तथा कुपोषण हटाउन सहुलियत मूल्य पसल प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा विश्व खाद्य कार्यक्रमका सुर्खेत प्रमुख पूर्णबहादुर नेपालीले कर्णालीका दुर्गम ग्रामीण, खाद्य असुरक्षित कुपोषण समस्याग्रस्त क्षेत्रलाई लक्षित गरि नियमित आपूर्ति सुनिश्चित गर्ने प्रणालीको विकास गर्दै सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो ।  

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले आम उपभोक्तालाई लक्षित गरि खोलिने सहुलियत मूल्य पसलमा विक्री वितरणका लागि राखिने खाद्यान्न तथा तरकारीजन्य वस्तुको गुणस्तर, मापन, भण्डारणलगायतका विषयहरूमा बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

सहकारी संघ सुर्खेतका अध्यक्ष अमृतबहादुर बिसीले कर्णालीका उपभोक्तालाई लक्षित गरी खोलिने सहुलियत मूल्य पसलबाट विपन्न नागरिकलाई बढी लाभ पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । 

राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश सदस्य डिलबहादुर खत्रीले व्यापारीको एकाधिकार र कालोबजारी तोड्न यस्ता पसलहरू वर्षभरि सहरदेखि गाउँ–गाउँसम्म सञ्चालन गर्न आवश्यक रहेको औँल्याउनुभयो । 

उहाँले यसअघि चाडपर्वमा मात्र खोलिने सहुलियत मूल्य पसलबाट नजिकै घर हुनेलाई मात्रै बढी लाभ लिने गरेको सर्वसाधारणले गुनासो गर्दै आइरहेको जनाउनुभयो । 

उहाँका अनुसार कतिपयले सुपथ मूल्य पसल खोलिएको थाहा पाए पनि टाढाका उपभोक्ताका लागि त्यहाँ आएर सामान किनेर लैजानु बजार बजार मूल्य जस्तै हुने गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button