तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरा सदरमुकाम सडक विस्तारको मुआब्जाका लागि आवेदन खुला  

डडेल्धुरा । जिल्ला सदरमुकाम बाघखोर क्षेत्रको सडक विस्तार गर्नका लागि मुआब्जाको निवेदन खुल्ला गरिएको छ । मुआब्जाका लागि ९६ जना स्थानीयले आवेदन दिएका छन् । 

गत कात्तिक १ गते जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मुआब्जाको दाबी गर्न जग्गाधनीलाई ३५ दिने सूचना प्रकाशित गरेको थियो । प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका अध्यक्ष मोहनराज जोशीका अनुसार पहिलो चरणमा सडकको दायाँ बायाँ १५/१५ मिटरमा पर्ने जग्गाधनीलाई मुआब्जा दाबी गर्नका लागि ३५ दिने सूचना जारी गरिएको थियो । १०५ जना जग्गाधनीलाई मुआब्जा दाबी गर्नका लागि कित्ता नम्बर र सडकमा पर्ने क्षेत्रफलसहित सूचना जारी गरिएको थियो । 

उक्त सूचनाको आधारमा सडक डिभिजन कार्यालय डोटी कुलपातेमा ९६ जना जग्गाधनीले निवेदन दर्ता गरेको कार्यालयका इन्जिनियर रामचन्द्र जैशीले जानकारी दिएका छन् । मुआब्जा वितरण गर्न पहिलो चरणमा २० करोड रकम सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई प्राप्त भएको छ । 

यस अघि २०७७ असार महिनामा सडक विस्तारका लागि आह्वान गरिएको टेण्डर प्रक्रिया रोक्न सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । २०५८ माघ २१ गते पुनरावेदन अदालत दिपायलले जग्गा प्राप्ति ऐन २०३४ बमोजिम प्रक्रिया पुरा गरी कानुन बमोजिम निवेदकहरूले पाउने मुआब्जा सार्वजनिक सडक ऐन २०३१ बमोजिम क्षतिपूर्ति उपलब्ध नगराउन्जेलसम्म घरहरू टहराहरू नहटाई सडक विस्तार गर्न नपाउने गरी फैसला भएको कुरालाई आधार मानी स्थानीयहरूले सर्वोच्चमा रिट दायर गरेका थिए ।  

यसकारण चालु आर्थिक वर्षमा स्थानीय जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउन सरकारले बजेट विनियोजन गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button