इलाम २ मा मतगणना स्थगित
इलाम । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा मतगणना स्थगित भएको छ ।
इलाम नगरपालिका वडा नं. १ को मत गणना जारी रहँदा साँढे ५ बजेदेखि गणना स्थगित भएको हो । यो वडामा १ हजार ९ सय ९२ मत खसेको थियो ।

मतदान अधिकृतको हस्ताक्षर नभएको ४० वटा मतपत्र रहेको, २ सय ४८ वटा मतपत्र हराएको, रुख चिन्हमा स्वस्तिक छाप लगाएको मतपत्रमा बदर नभएकोलाई बदर बनाएको गठबन्धन दलका प्रतिनिधिको भनाई छ । गणना स्थल परिसरमा नाराबाजी गरेपछि सुरक्षा व्यवस्था कडा परिएको छ ।
मतगणना व्यवस्थित भइरहँदा अचानक अवरुद्ध भएको मुख्य निर्वाचन अधिकृत दिपक कुमार दाहालले बताउनुभयो । निर्वाचन आयोगले मतगणना जारी राख्न भने पनि दलहरूसँग समन्वय गर्न बैठक बस्ने तयारी भइरहेको दाहालले जानकारी दिनुभयो ।
इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र गठबन्धन बाट उम्मेदवार रहनुभएका कांग्रेसका डम्बर खड्काबिच कडा प्रतिस्पर्धा भइरहेको छ । एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ २९ हजार १ सय ३५ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ भने कांग्रेसका डम्बरबहादुर खड्का २९ हजार ५ मतसहित नेम्वाङलाई पछ्याइरहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्