निर्वाचनमा सुदूरपश्चिमबाट साढे १६ लाखभन्दा बढी मतदाता सहभागी हुने

धनगढी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशभर साढे १६ लाखभन्दा बढी मतदाता सहभागी हुने भएका छन् ।
प्रदेशको राजधानी रहेको कैलालीसहित नौ वटै जिल्लामा गरि करिब १६ लाख ५८ हजार ४ मतदाता रहेको र त्यसै बमोजिम मतदान गर्ने व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
ती मध्ये ८ लाख ४२ हजार ७४४ महिला र ८ लाख १५ हजार २१२ पुरुष मतदाता तथा १८ जना अन्य मतदाता रहेका छन् ।
यो प्रदेशमा सबैभन्दा कैलालीमा ५ लाख ३५ हजार ५१४ मतदाता रहेका छन् भने बाजुरामा सबैभन्दा कम ८३ हजार ५६७ मतदाता रहेका छन् ।
प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले ती मतदाताका लागी नौ वटै जिल्लामा गरि १ हजार १ सय ६१ मतदानस्थल र २ हजार १ सय ४६ मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो ।
उहाँले यसपालिको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फ छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था गरिएको बताउनुभयो ।
यसैगरी प्रदेशमा रहेका अस्थायी मतदाताका लागि विभिन्न जिल्लामा गरि २२ वटा मतदानस्थल निर्धारण गरिएको र त्यस्ता अस्थायी मतदाताहरूले प्रतिनिधि सभाको समानुपातिक तर्फ मतदान गर्ने व्यवस्था मिलाइएको भट्टले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामा प्रतिनिधि सभातर्फ १६ निर्वाचन क्षेत्र र प्रदेश सभामा ३२ वटा क्षेत्र रहेका छन् । सबैभन्दा बढी कैलालीमा ५ निर्वाचन क्षेत्र रहेका छन् ।
यस्तै, प्रतिनिधिसभातर्फ कञ्चनपुरमा ३ निर्वाचन क्षेत्र, अछाममा २ र डडेल्धुरा, बैतडी, बझाङ्ग, बाजुरा, दार्चुला, डोटीमा एक÷एक निर्वाचन क्षेत्र रहेका छन् । यो प्रदेशबाट प्रतिनिधिसभामा १६ जना र प्रदेशसभामा ३२ जना सांसद निर्वाचित हुने छन् ।







प्रतिक्रिया राख्नुहोस्