तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आचारसंहिता पालनामा दलहरू जिम्मेवार : इन्सेक

गोरखा । नेपालमा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी घटना कम हुँदै गएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले जनाएको छ । राजनैतिक दलहरूले आचारसंहिता पालनामा जिम्मेवारी प्रस्तुत गरेकाले घटनाहरू कम हुँदै गएको इन्सेकका गण्डकी प्रदेश प्रमुख शिव प्रसाद खकुरेलले बताउनुभयो । स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन सबैको सरोकार सम्बन्धी पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

निर्वाचन आयोगले उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि निश्चित मापदण्ड तोकेको र सो मापदण्ड उल्लङ्घन गरे तत्काल कारबाही गर्ने, जरिवाना तिराउने तथा उम्मेदवारी नै खारेज गर्ने हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घनको घटना कम हुँदै गएको उहाँले बताउनुभयो । इन्सेकका टोली गोरखाको पालुङ्टार, गोरखा नगरपालिका लगायतका ठाउँहरूमा पनि स्थलगत अनुगमन गरेको छ । 

सोही कार्यक्रममा इन्सेकले मङ्सिर ४ गतेको निर्वाचनका लागि नेपालभर ८ सय र गण्डकी प्रदेशमा ७६ जना पर्यवेक्षक खटाइएको उहाँले बताउनुभयो । इन्सेकले निर्वाचनअघि, मतदानको दिन र निर्वाचन सम्पन्नपछि गरी तीन चरणमा निर्वाचन गतिविधिको सुपरिवेक्षण गर्ने खकुरेलले बताउनुभयो ।

निर्वाचनलाई स्वच्छ, शान्त भयरहित वातावरणमा सम्पन्न गराउनका लागि राज्यलाई सहयोग गर्न पर्यवेक्षक खटाएको उनको भनाइ छ । पर्यवेक्षकबाट आएको सुझावले आगामी दिनमा निर्वाचनलाई कम खर्चिलो हुने गरी र आचारसंहिता पालना गर्न आयोगलाई धेरै मद्दत पुग्ने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button