तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस सपना बाँड्न होइन, पुरा गर्न केन्द्रित: मन्त्री कार्की

सुनसरी । सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाली काँग्रेस सपना बाँड्न नभई पूरा गर्नेतर्फ केन्द्रित रहेको बताउनुभएको छ ।

सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका–७, घुस्कीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले विकास बिनाको राजनीति खोक्रो नारा मात्रै हुने उल्लेख गर्नुभयो । ‘नेपाली काँग्रेसले जे बोल्छ, त्यो पूरा गर्छ’ उहाँले भन्नुभयो ।

मुलुकको विकास, संविधान, लोकतन्त्रको रक्षा र जनताको सुरक्षाको प्रत्याभूति गर्ने पार्टी नेपाली कांग्रेस भएकोले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरूलाई निर्वाचित गराउन आवश्यक रहेको मन्त्री कार्कीको भनाई थियो ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका मन्त्री कार्कीले मुलुकमा गठबन्धन आवश्यकता महसुस गरेर लोकतान्त्रिक बाम गठबन्धन गरिएको बताउनुभयो ।

हरिनगर घुस्कीको अर्नामा १४ करोडको पुल निर्माणका लागि टेण्डर प्रक्रिया पूरा गरेकोले केही महिनाभित्र काम सम्पन्न हुने जानकारी उहाँले दिनुभयो ।

यसैगरि हरिनगर गाउँपालिकाको रामनगर भुटाहामा पाँच करोडको शीत भण्डार स्थापना र हरिनगरमा रहेको विद्यालय र मदर्साहरुलाई आइटीसँग जोडेर स्मार्ट विद्यालयको परिकल्पना पूरा गर्न लागिएको मन्त्री कार्कीले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले र जनता समाजवादी पार्टी परित्याग गरी दुई सय ५० बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button