तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली करिडोर खुल्यो

मान्म I अवरुद्ध कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडकखण्डको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसाको पहिरो पन्छाएपछि खुलेको हो । 

असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली करिडोर कालीकोटको नरहरिनाथ–८ को खुलालुदेखि पचालझरना गाउँपालिका–७ जारकोटसम्म खुलेको छ । 

सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा आएको पहिरोले करिब ३० दिनदेखि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो तिन दिन लगाएर पन्छाएपछि खुलेको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले बताउनुभयो । 

“अहिले पहिरो खस्न कम भएपछि करिडोरको लुसा खण्ड खुलाएर पचालझरनाको जाजरकोटसम्मको सडक सञ्चालनमा आएको छ”, उहाँले भन्नुभयो, “त्यहाँबाट अगाडि अन्य ठाउँमा पहिरो गएका छन् । तिनीहरू पनि खुलाउने काम तीव्र पारिएको छ ।”

गत असोज १९ देखि असोज २६ गतेसम्म परेको अविरल वर्षाले करिडोर क्षेत्रका विभिन्न ठाउँमा बाढीपहिरो गएकाले कर्णाली करिडोर अवरुद्ध हुन पुगेको प्रमुख यादवले जानकारी दिनुभयो । “अन्य ठाउँको भन्दा लुसामा गएको पहिरो अलि जटिल खालको थियो”, उहाँले भन्नुभयो, “लुसाको पहिरो पन्छाएपछि अन्य ठाउँको पहिरो पन्छाउन कुनै समस्या रहेको छैन ।”

कर्णाली करिडोरको घाटपारी चौरलगायतका क्षेत्रमा पहिरो पन्छाउने काम चलिरहेकोले हुम्लाको सिमाना सलिसल्लासम्म एक हप्ताभित्र नै यातायातका साधन चल्ने प्रमुख यादवको भनाइ छ । 

करिडोरका पहिरो जाँदा यातायातका साधन सञ्चालनमा समस्या भएको अहिले कालीकोटको पचालझरनाको जारकोटसम्म यातायात सञ्चालनमा र केही दिनमा अन्य ठाउँको पहिरो पन्छाएपछि पूर्णरुपमा यातायातका साधन सञ्चालनमा ल्याउने मानसरोवर यातायात प्रालिका इन्चार्ज ललित बमले जानकारी दिनुभयो । “सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालन गर्न पाएका थिएनौँ”, उहाँले भन्नुभयो, “यातायातका साधन नचल्दा नागरिकले सास्ती बेहोर्नु परेको थियो ।”

कर्णाली करिडोर कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि हुम्ला सिमिकोटसम्म एक सय ९६ किलोमिटर लम्बाइ रहेको छ । जसअन्तर्गत कालीकोट जिल्लामा ४० किमी सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किमी र हुम्ला जिल्लामा एक सय १३ किमी रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button