तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल मजदुर किसान पार्टीद्वारा निर्वाचनकाे घोषणापत्र सार्वजनिक

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेमकिपाले घोषणापत्र सार्वजनिक गरेको हो ।
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा गोर्खा भर्ती खारेज गर्नेदेखि मुलुकमा रासायनिक मल कारखाना खोल्नेसम्मका विषय समेटिएका छन् ।
घोषणापत्रमा माध्यमिक शिक्षा अनिवार्यरुपमा निःशुल्क गर्नुपर्ने र विश्वविद्यालय शिक्षालाई सहज बनाउँदै लैजानुपर्ने उल्लेख  छ ।
नेमकिपाले नेकपा एमाले पुँजीवादी सत्ताको भागबण्डामा लाग्नु राजनीतिक रुपमा असक्त सावित भएको बताउँदै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धन सारमा एउटै सिक्काको दुई पाटा भएको आरोप लगाएको छ ।
घोषणापत्रमा पार्टीले नेपालको पूँजी देशकै विकासमा लगानी गर्न राष्ट्रिय पूँजीपतिहरुलाई उत्साहित गर्नुपर्ने आजको आवश्यकता रहेको बताएको छ ।
घोषणापत्रमा नेपालमा काम पनि नगर्ने ठेक्का पनि नछोडी देश र जनतालाई धोका दिने ठेकेदारलाई कडा भन्दा कडा कारबाही गर्दै ठेकाबाट बञ्चित गराउन ऐन, कानुन संसदबाट तर्जुमा गराउन नेमकिपाका प्रतिनिधिहरूले संसदमा भूमिका खेल्ने भनाई छ ।
नेपालीको सम्पत्तिलाई विदेशमा नलैजाने नियम कानुन बनाउन आवश्यक रहेको नेमकिपाले औँल्याएको छ ।
यस्तै शिक्षामा बजेट बढाउनुपर्ने, स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्नेलगायत विषयहरू नेमकिपाले आफ्नो घोषणापत्रमा समेटेको छ । नेमकिपाले सङ्घीयताको औचित्यमाथि प्रश्न उठाउँदै निर्वाचनपछि बलियो प्रतिपक्षको रुपमा संसदमा प्रस्तुत हुने जनाएको छ ।
ख्वप कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो पार्टीले अहम् भूमिका निर्वाह गर्ने घोषणापत्रमा उल्लेख  छ। समाजवादको विकल्प नभएको ठहर्‍याउँदै नेमकिपाले वर्तमान राजनीतिक दलहरूको कार्यशैलीको तीव्र आलोचना गरेको छ ।
उसले भारतसँग भएको असमान सन्धिहरू खारेज गर्न आफ्नो पार्टीले पहल गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
कार्यक्रममा पार्टीका अध्यक्ष बिजुक्छेले एमसीसी देशको अहितमा रहेको र यसकै कारण नेपाल युद्धमा फस्न सक्ने स्थिति आएको बताउनुभयो ।
निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा घोषणापत्रको सार प्रस्तुत गर्दै पार्टीका सचिव तथा प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले निर्वाचन क्रान्तिको सङ्केत दिने ब्यारोमिटर भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button