स्वच्छ र सफा गाउँपालिका बनाउन सरसफाइ अभियान

सोलुखुम्बु । स्वच्छ र सफा गाउँपालिका बनाउन सोलुखुम्बुको नेचासल्यान गाउँपालिले सरसफाइ अभियान सञ्चालन गरेको छ ।
गाउँपालिकाको केन्द्र रहेको बजार क्षेत्रबाट सुरु गरिएको सरसफाइ अभियान पछिल्लो समय गाउँपालिका भरीका बजार क्षेत्र तथा मुख्य स्थानहरूमा निरन्तर रुपमा भइरहेको छ ।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिले सरसफाइबाट सुन्दर गाउँपालिका बनाउने अभियानलाई प्राथमिकतामा राखेको बताएका छन् ।

गाउँपालि उपाध्यक्ष विना राई तथा स्थानीय अगुवा चन्द्रप्रसाद आचार्यको सक्रियता तथा अन्य जनप्रतिनिधि, स्थानीय तहका कर्मचारी, प्रहरी तथा स्थानीय सरोकारवालासँगको सहभागितामा सरसफाइ अभियान भएको हो ।
बजार क्षेत्र तथा गाउँपालिकाको सुन्दरताका लागि सरसफाइ अभियान तथा अन्य व्यवस्थापनको कार्यलाई निरन्तरता दिने उपाध्यक्ष विना राईले बताउनुभयो ।
“हामी हाम्रै कार्यकालमा सफा, सुन्दर र हराभरा पालिका निर्माणमा अगाडी बढेका छौँ । सबै क्षेत्रसँग सहयोग र हातेमालो गर्दै अघि बढ्ने छा”, उपाध्यक्ष विना राईले भन्नुभयो ।
यस क्रममा सोलुखुम्बुको स्वास्थ्य र सरसफाईमा विगत लामो समयदेखि काम गरिरहेको गैरसरकारी संस्था इको हिमाल नेपालसँग सरसफाइको क्षेत्रमा काम गर्न साझेदारीको शुरुवात गरिएको समेत उपाध्यक्ष राईले जानकारी दिनुभयो ।
गाउँपालिकाको फोहोर सङ्कलनका लागि एक दर्जन डस्टविन इको हिमाल नेपालले गाउँपालिकालाई उपलब्ध गराउँदै आगामी दिनमा थप सहयोग गर्ने जनाएको छ ।

इको हिमाल नेपालले उपलब्ध गराएको गाउँपालिकाका विभिन्न स्थानमा फोहोर व्यवस्थापनको लागि थप २२ स्थानमा राखिएको छ । उपाध्यक्ष विना राईको समन्वयमा ग्रामीण विकास संस्था काभ्रेद्वारा सञ्चालित सोलुवाट्री परियोजनाले उपलब्ध गराएको डस्बिन नेचाबिहीबारे बजार, सल्यानको बुधबारे बजार, सल्यान, गैरी, ख्याम्पु र केही माध्यमिक विद्यालय परिसरमा राखिएको छ ।
कुहिने र नकुहिने फोहोर सङ्कलन गर्न मिल्ने डस्बिनले सामुदायिक सरसफाईमा मद्दत पुग्ने बताइएको छ । यसअघि फोहोरको उचित व्यवस्थापन हुन नसक्दा बजार क्षेत्रमा दुर्गन्ध बढेको स्थानीयको भनाइ छ ।
नियमित सरसफाइ हुँदा बजारको मुहार फेरिएको भन्दै अभियानको निरन्तरता तथा चेतना विकासमा समेत ध्यान दिन सके सुन्दर पालिका निर्माण गर्ने सपना पूरा हुने स्थानीय अगुवा हेमराज शर्मा कट्टेलले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्