सल्यानका तीन झोलुङ्गे पुल अलपत्र

सल्यान । सल्यानमा निर्माणाधीन तीन झोलुङ्गे पुल अलपत्र भएका छन् ।
अनुमानभन्दा झन्डै दुई गुणा फलामजन्य सामाग्रीको मूल्य बढेसँगै तीन झोलुङ्गे पुल निर्माण हुँदाहुँदै रोकिएका हुन ।
जिल्लाको कुमाख गाउँपालिकास्थित जिमाली खोला, मर्म खोला र शारदा नगरपालिका १५ स्थित शारदा नदीमा निर्माण भइरहेको पुल अलपत्र परेको हुन ।
गत आर्थिक वर्षको असार मसान्तसम्म सम्पन्न हुनु पर्ने भएपनि निर्माण सामाग्री नआउँदा अलपत्र परेको स्थानीयको भनाई छ ।
झन्डै एक करोड रुपैयाँ लागतमा तीन झोलुङ्गे पुल निर्माण थालिएको थियो । समयमै पुल निर्माण सम्पन्न नहुँदा स्थानीय जोखिम मोलेर वारपार गर्न बाध्य भएका छन् ।
थापाचौर झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष शम्भु शर्माले सम्बन्धित निकायले समयमै निर्माण सामाग्री उपलब्ध गराउन नसक्दा काम रोकिएको बताउनुभयो । सामाग्री आएमा एक दुई महिनामा काम सम्पन्न हुने उहाँको भनाई छ ।
कुमाख गाउँपालिकाका इन्जिनियर विश्वनाथ योगीले सुर्खेतको न्यु भेरी कम्पनीसँग गरेको सम्झौता अनुसार समयमै फलामका सामाग्री नआउँदा र भएको कामको गुणस्तर परीक्षण नहुँदा पुल निर्माणमा ढिलाइ भएको उहाँको भनाई छ ।
निर्माण कम्पनीले भने पुल निर्माणका लागि सम्झौता भएको समय भन्दा अहिले झन्डै फलामजन्य सामाग्रीको दुई गुणाभन्दा बढी बजार मूल्य बढ्दा समस्या भएको बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्