ऐतिहासिक पाल्पा भगवती जात्रा सम्पन्न
पाल्पा । ऐतिहासिक पाल्पा भगवतीको जात्रा सम्पन्न भएको छ ।
आज पाल्पा सदरमुकाम तानसेनको पाल्पा दरबार, मुल ढोका हुँदै नगरका विभिन्न स्थान हुँदै पुनः मन्दिर परिसरमा पुगी जात्राको विसर्जन गरियो । पश्चिम नेपालकै ठूलो जात्राको रुपमा रहेको श्री ७ रणउजेश्वरी भगवती जात्रा धुमधामका साथ सम्पन्न भएको हो ।

यस पटकको भगवती जात्रा २ सय ४ औँ वर्षको हो । विगतमा कोरोना महामारीका कारण सीमित घेराभित्र मनाइएको जात्रा यस वर्ष धुमधामले मनाइएको हो ।
नेपालले अङ्ग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा विजय स्वरूप पाल्पामा भगवतीको जात्रा निकाल्ने गरिन्छ ।

पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिंह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन तीनै आराध्यदेवी भगवतीको आराधना र भाकल गरि विजय प्राप्त गरेको विश्वास स्वरूप सिन्दूर यात्रासहित भगवतीको रथ निकाल्ने गरिएको हो ।
कर्णेल थापाले विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीन तले मन्दिर पूरा गरेका थिए । तिनै थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते जीतगढीमा अङ्ग्रेजलाई परास्त गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्