आफ्नै पालिका केन्द्र पुग्न अन्य तीन पालिका पार गर्नुपर्ने बाध्यता

सल्यान । स्थानीय सरकारलाई घर नजिकको सरकार भन्ने बुझिन्छ । स्थानीय पालिका एक भौगोलिक तथा शासकीय तह हो जसको कार्यकारिणी अङ्ग गाउँ तथा नगर कार्यपालिका हुन्छ ।
नेपालमा संघीय संरचना हुनुपुर्व तत्कालीन जिल्ला विकास समितिले गर्दै आएको कार्यकारिणी कार्यहरू यतिबेला स्थानीय तहले गर्ने गरेका छन् ।
जिल्ला विकास समितिले गर्दै आएको कार्यकारिणी कार्यका लागि जिल्ला सदरमुकामसम्म धाउनुपर्ने नागरिकहरू यतिबेला आफ्नै स्थानीय पालिकाबाट गर्दै आएका छन् ।
तर छत्रेश्वरी गाउँपालिका १ र २ (साबिक दमाचौर गाविस) का नागरिक भने आफ्नै गाउँपालिकाको केन्द्र जान पनि जिल्ला सदरमुकामभन्दा टाढाको बाटो धाउने गरेका छन् ।
२०७२ मा स्थानीय तहको सिमाङ्कन गर्दा तत्कालीन दमाचौर गाविससहित लेखपोखरा, झिम्पे र छाँयाछेत्रलाई मिलाएर छत्रेश्वरी गाउँपालिका बनाइएको थियो ।स्थानीय तहको गठनसँगै गाउँपालिकाको केन्द्र छाया क्षेत्रको भोटेचौरमा राखियो । भौगोलिक हिसाबले दमाचौरबाट भोटेचौर जानलाई जिल्ला भित्रका अन्य तीन वटा पालिका पार गर्नुपर्छ । दमाचौरबासीलाई भोटेचौर जानलाई बागचौर नगरपालिका हुँदै, सिद्धकुमाख गाउँपालिका र शारदा नगरपालिकाको बाटो भएर पुग्नुपर्ने बाध्यता रहेको छ ।
गाउँपालिकाको केन्द्र जानलाई सबैभन्दा धेरै कष्ट वडा नम्बर १ वासीलाई हुने गरेको स्थानीय लाल बहादुर चन्दले बताउनुभयो ।
“हामीले आफ्नै गाउँपालिकाको केन्द्र जानलाई ३ वटा पालिका पार गर्नुपर्छ, यो कस्तो खालको संरचना हो ?” उहाँले प्रश्न गर्नुभयो ।
त्यतिबेला ठुला नेताहरूले आफ्नो राजनीति अस्तित्वको लागि दमाचौरलाइ छत्रेश्वरीमा मिसाएर दुख दिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “हामीलाई भौगोलिक दुरीको हिसाबले बागचौर धेरै नजिक पर्छ । तर दमाचौरमा नेताको पहुँच नहुँदा छत्रेश्वरीमा मिसाएर गाउँपालिका बनाइएको हो ।”
वृद्धा भत्ता ल्याउनकै लागि दुई तीन दिन लगाएर भोटेचौर जानुपरेको स्थानीय त्रिभान खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो “हामी बृद्धाभत्ता ल्याउन बागचौर नगरपालिका हुँदै भोटेचौर जान्छौँ । एक दिनमा काम सकिँदैन । बास बसेर अर्को दिन फर्किनुपर्छ । बागचौर नगरपालिका भएको भए उसै दिन काम गरेर फर्किन सकिन्थ्यो ।”
दमाचौरमा पहिलेका नेतृत्वको पहुँच नहुँदा छत्रेश्वरीमा राखेकोले अन्याय भएको भन्दै स्थानीय केपी शर्माले अब दमाचौरलाइ बागचौरमा गाभ्नुपर्ने धारण राख्नुभयो ।
उहाँले भन्नुभयो “हामीले अब दमाचौरलाइ बागचौरमा मिसाउनु पर्छ । त्यसका लागि सबै निकायसम्म पुग्छौँ ।” दमाचौरलाइ बागचौरमा मिलान गर्नको लागि दमाचौरबासीले छिट्टै सङ्घर्ष समिति बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
अर्का स्थानीय क्षेत्र केसीले भन्नुभयो “हामी बागचौर नगरपालिकाबासी भएको भए बिहान पालिका गएर काम नसकिए पनि साँझ घर फर्किन सकिन्छ । तर भोटेचौर हुँदा काम नसकिँदा उतै बास बस्नुपर्छ ।”








प्रतिक्रिया राख्नुहोस्