तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्घीयता मुलुकको आवश्यकता’

काठमाडौँ । जनअधिकार सुनिश्चितताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र उक्त व्यवस्था आजको आवश्यक रहेको राजधानीमा आज आयोजित कार्यक्रमका वक्ताहरूले बताउनुभएको छ ।

जनसरोकार अभियानद्वारा काठमाडौँमा आयोजित ‘सङ्घीयता: भ्रम र यथार्थ’ विषयक बहसका वक्ताहरूले कतिपयमा सङ्घीयताबारे भ्रम उत्पन्न भएको उल्लेख गर्दै मुलुकको पहिचान, संस्कृति, मूल्य मान्यताका आधारमा सङ्घीयता स्थापना भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा लेखक तथा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले नेतृत्व गर्ने व्यक्तिको कमजोरीका कारण सङ्घीयताबारे भ्रम उठ्न खोजेको बताउँदै सङ्घीयता देशको आवश्यकता भएको बताउनुभयो । उहाँले जनताका सेवा सुविधालाई गाउँ गाउँमै सहज रूपमा पुर्‍याउनका लागि सङ्घीयताको महत्त्व बढी रहेको बताउनुभयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले सङ्घीयताको विषयमा अहिले नै सफल या असफल भएको भनेर छलफल गर्नुपर्ने बेला नभएको बताउनुभयो । उहाँले २०/२५ वर्ष अभ्यास भएपछि मात्रै यसबारेमा विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीयताले मुलुकका ७५३ पालिकाका जनता लाभान्वित भएका र तल्लो तहका जनताले पनि प्रत्यक्ष रुपमा निगरानी गर्न सकेकाले आर्थिक पारदर्शिता निर्माण गर्न सकिएको उहाँको भनाइ थियो ।

कार्यक्रमका संयोजक अनिल शर्माले सङ्घीयताका सवालमा देखिएको भ्रम निवारणका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले सङ्घीयता मुलुकको पहिचान भएकाले नागरिकका अधिकार सुनिश्चितताका लागि आवश्यक भएको बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button