यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

धनकुटा ।धनकुटा नगरपालिका वडा नं ८ साङताङमा रहेको देउराली माविमाका शिक्षक चन्द्रकुमार राई (एवाई)लाई छात्रा माथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शिक्षक राई विरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय धनकुटामा पीडित छात्राहरू र उनका अभिभावकहरूले यौन दुर्व्यवहार भएको भन्दै कारबाहीको माग राख्दै उजुरी दिएका थिए ।
राईले आफ्नै विद्यालयका कक्षा ६ देखि १० कक्षामा अध्ययनरत ८ बालबालिकामाथि यौन दुर्व्यवहार गरेको प्रहरीमा उजुरी परेको छ । असार २१ गते मङ्गलवार विद्यार्थी माथि यौन दुर्व्यवहार गरेको घटना पछि शिक्षक राई फरार रहेका थिए ।
आइतबार उजुरी दर्ता भएसँगै प्रहरीले राति ९ बजे विद्यालय बाटै विद्यार्थीहरूको सहयोगमा पक्राउ गरिएको हो । फरार शिक्षकलाई घटनाबारे विद्यालयमा छलफल गर्न योजना बद्ध ढङ्गले बोलाएर छात्रछात्रा र अभिभावकहरूले घेराउ गरेर राखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।
धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं ३ कुङलाङ घर भएका ४० वर्षीय राई २०६५ सालदेखि उक्त विद्यालयमा राहात दरबन्दीमा पढाउँदै आएको विद्यालय व्यवस्थापन समितिका सदस्य रामकुमार आठपहरियाले जानकारी दिनुभयो । राईले विद्यालयका ११ वर्ष देखि १५ वर्ष उमेर समूहका छात्राहरूलाई मैया भनेर निस्काउने ,संवेदनशील अङ्गमा छुने ,गालमा चिमोट्ने , लगायतका क्रियाकलाप गरेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ ।
पीडित बालबालिकाले यसअघि प्रधानाध्यापक यमबहादुर बस्नेत तथा अभिभावक संघका अध्यक्ष सोमबहादुर राईलाई घटनाबारे निवेदन बुझाउँदा दुई पटक च्यातेर फ्याँकी दिएको पीडित बालिकाहरूले बताएका छन् । निवेदन च्यात्ने प्रधानाध्यापक अहिले फरार रहेका छन् । घटनाबारे गहिरो अनुसन्धान गरिने प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले बताउनुभयो ।
मुलुकी ऐन अपराध संहिता २०७४ को दफा २२५ अन्तरगत कसुरमा अदालतसमक्ष मुद्दा अघि बढाइने प्रवक्ता दाहालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्