तपाईँ सुन्दै हुनुहुन्छः

तानसेनका छाडा गाईबस्तुको व्यवस्थापन

पाल्पा । तानसेन नगरपालिका क्षेत्रको छाडा चौपायाको व्यवस्थापन गरिएको छ । तानसेन नगरपालिकाले रुरु गौसेवा आश्रमसँगको समन्वयमा गाईगोरुको व्यवस्थापन गरिएको नगर प्रवक्ता यादव सिंह कार्कीले बताउनुभयो ।

कार्कीका अनुसार तानसेनको बसपार्क, टुँडिखेल, बजार क्षेत्र, बतासेडाँडा लगायतका क्षेत्रमा रहेको छाडा चौपायाका कारण दुर्घटना लगायतको समस्या रहेको थियो, जसको व्यवस्थापनको लागि गौसेवा आश्रम रिडीसँग समन्वय गरिएको बताउनुभयो ।

आश्रमका सञ्चालक शङ्कर गिरीका अनुसार धार्मिक र वैज्ञानिक हिसाबले पनि महत्त्वपूर्ण रहेको गाईहरू पछिल्लो समयमा बेवास्तामा पर्ने गरेको बताउनुभयो । उहाँले स्थानीय जातका गाईको दूध, ध्यू अमृत समान रहेको भएता पनि मानिसहरूमा चेतना अभावले गर्दा त्यसै सडकमा छाड्न थालिएको बताउनुभयो ।

उहाँले गाईको दूध, ध्यू, मलमूत्र सबै औषधीय गुणले भरिपूर्ण हुने भएकाले गाईको संरक्षण सँगै चेतनास्तरमा वृद्धि ल्याउन आफूहरूले अभियान नै सुरु गरेको बताउनुभयो । 

तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठ सहितका जनप्रतिनिधिहरूले आश्रममै पुगेर गाइको व्यवस्थापनको लागि पहल गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button