तपाईँ सुन्दै हुनुहुन्छः

प्रसारण लाइनमा झुण्डिएका व्यक्तिलाई उद्धार गर्न ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोटको ककनी–७ मा अवस्थित नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनमा एक व्यक्ति चढेपछि निजलाई उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले निर्देशन दिनुभएको छ ।

आज बिहान ११ बजे सो प्रसारण लाइनमा ती व्यक्ति चढेपछि विद्युत् प्रसारण अवरुद्ध छ । उच्च क्षमताको प्रसारण लाइनमा मानिस चढेपछि त्यसको प्रभाव दशेभर परेको छ । प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि माथिल्लो त्रिशूली थ्री ए लगायतका केही आयोजनाको बिजुली उत्पादन बन्द गर्नु परेको छ । प्रणालीमा ६५ मेगावाट बिजुली अपुग भएको छ । 

माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट क्षमतामा नै चलिरहेको थियो भने अन्य केही आयोजनाको बिजुली समेत सोही प्रसारण लाइनमार्फत काठमाडौँ ल्याइएको छ । स्थानीयवासीका अनुसार प्रसारण लाइनमा चढ्ने व्यक्ति बेलकोटगढी नगरपालिका १३ घले गाउँका ४४ वर्षीय माइला विक हुन् । उनलाई प्रहरी र स्थानीयवासीले निरन्तर तल झार्ने प्रयास गरे पनि हालसम्म सफलता हात लागेको छैन । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले झण्डै ६ घण्टादेखि ६५ मेगावाट बिजुली प्रणालीबाट बाहिर रहेको जानकारी दिनुभयो । 

मन्त्री भुसालले प्रसारण लाइनमा झुन्डिएका माइलाको उद्धारका लागि नेपाली सेनालाई आग्रह गर्नुभएको छ ।  उहाँले भन्नुभयो “विद्युत् लाइनको जोखिमलाई ध्यान दिएर हेलिकोप्टरबाट भए पनि उद्धार गरौँ भनेर सेनालाई आग्रह गरेको छु ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button