खुम्बु क्षेत्रका बासिन्दा : पर्यावरण सुहाउँदो सांस्कृतिक, सामाजिक व्यवहार
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/06/batabarn-diwas.jpg)
काठमाडौँ । जलवायु परिवर्तन र यसबाट सिर्जित विश्वव्यापी सङ्कटको कारक तत्त्वमध्ये मानवीय क्रियाकलाप मुख्य मानिन्छन् । मानव जगतको खतराका रुपमा उभिएको जलवायु परिवर्तनको असर मानवीय गतिविधिको उपज रहेको अध्ययनहरूले पुष्टि गरेका छन् ।
कुनै धार्मिक विश्वास, सांस्कृतिक सामाजिक मूल्यमान्यतामा चलिआएको सामान्य मानव बानी व्यवहार तथा अपनाइएका आचरणहरू जलवायु परिवर्तन अर्थात् वातावरण सुहाउँदो हुन्छ भन्दा झट्ट सहमत हुन कठिन हुनसक्छ ।
तर,वातावरणमैत्री आचरण र व्यवहारको पर्याय हुन् नेपालका हिमालय बासी अर्थात् सगरमाथाको काखमा करिब ३ हजार मिटर बढी उचाइमा बसोबास गर्ने सोलुखुम्बु जिल्लाको लुक्ला, पाक्दीङ, मन्जो, नाम्चे, खुम्जूँङ लगायत क्षेत्रका स्थानीयवासी ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/06/FB_IMG_1650782283970-1024x768.jpg)
बौद्ध धर्म अँगाल्दै आएका यस क्षेत्रमा घुम्न, हिमाल आरोहण गर्न या कुनै काम विशेष जुनसुकै उद्देश्यले पुग्नुभए पनि बाटोको छेउछाउ होस् या घर सामुन्ने ठुला–साना सबै प्रकारका ढुङ्गामाथि कलात्मक रुपमा केही लेखिएको सजिलै देख्न सकिन्छ । जुन हो, “ॐमणिपद्मेहूँ” एक प्राचिन बौद्ध मन्त्र । यसलाई ईश्वरीय आह्वानको शक्तिशाली मन्त्रका रुपमा लिने गरेको पाइन्छ । मन्त्रलाई केलाएर बुझ्दा, “ओम” विश्वव्यापी सृष्टिको आवाज, “मणि”को अर्थ रत्न “पद्मे” भन्नाले कमलको फूल र “हुँ” ले ज्ञानको आत्मालाई बुझाउने गर्छ । यस सम्बन्धी योगापीडियाले वर्णन गरेको पाइन्छ जसलाई यहाँ हेर्न सकिन्छ ।
ॐमानेपद्मेहृू।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/06/IMG_20220421_142418-1024x768.jpg)
शरीर, मन र वाणीको शुद्धताको समवन्धलाई व्याख्या गरिने बौद्ध धर्म अनुसार मानवीय जीवनमा प्राकृतिक विपत्तिको सामना गर्न नपरोस् भन्ने हेतुले मन्त्रले सजिएका ढुङ्गाहरू देवको प्रतीकको रुपमा पुज्ने तथा मान्यता राख्ने बताउनुहुन्छ नाम्चेका स्थानीय पेम्बा छिरिङ शेर्पा ।
पुर्खा तथा आफ्नो जीवनकालमा कुनै नराम्रा कार्य भए क्षमादानको स्वरूपमा समेत मन्त्रलाई दस्ताबेज गर्ने गरिएको बताइन्छ । यस्तै पुर्खाहरूबाट मांसाहारी हुने वा काटमार गरेको भएमा त्यस्ता क्रियाकलाप प्रति मन्त्र कुदेर याचना गरिने बताउनुहुन्छ स्थानीय तेन्जिङ टासी शेर्पा ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/06/IMG_20220421_152430-1024x768.jpg)
पुस्तौँदेखि ढुङ्गा कुदेर पुज्ने परम्परा धार्मिक विश्वाससँगै वातावरणलाई जोगाउन समेत मद्दत पुगिरहेको बताउनहुन्छ, सगरमाथा प्रदूषण नियन्त्रण कमिटीका अध्यक्ष आङदोर्जे शेर्पा । उहाँ भन्नुहुन्छ “गजब लाग्ने कुरा के छ भने यसरी (माने) ढुङ्गामाथि मन्त्र खोपेपछि त्यसमा फोहोर गर्नु भएन, कुनै हिसाबले प्रयोग पनि गर्नु भएन, नत्र मानिसहरूले घर बनाउन देखि बाटो बनाउन फुटाउन सक्छन्, मन्त्रित मानेलाई कुनै किसिमले हानी गर्नु धार्मिक आस्था विपरीत मानिन्छ, जसले गर्दा पुर्खाहरूले कुदेको हजारौँ माने अहिलेसम्म जोगिएका छन्, सुरक्षित छन् ।” साथै बौद्ध चैत्य तथा पानीका मुहान वरिपरि फोहोर गर्न नहुने र बोटबिरुवा मास्न नपाइने मान्यता पुर्खादेखि रहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।
काटमार विरोधी, वातावरण संरक्षणमा उत्साहित: स्थानीयवासी
वातावरण अनुकूलन जीवनशैली अपनाउनु जलवायु परिवर्तन न्यूनीकरणका लागि एक उपचारात्मक उपायका रुपमा वैज्ञानिकहरूले सुझाउँदै आएका छन् । आइपीसिसीको विभिन्न संस्करणका रिर्पोटहरुले भू-उपयोग, खाद्य सुरक्षा, खानपान र जीवनशैली वातावरण अनुकूल बनाउनु पर्नेमा जोड दिएको छ ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/06/received_5127619397328953-1024x576.jpeg)
रिर्पोटका अनुसार सन १९६१ देखि उपलब्ध तथ्यांकलाईं हेर्दा तेल र मासुको प्रतिव्यक्ति आपूर्ति दोब्बर बढी भएको देखाएको छ । लगभग दुई अर्ब वयस्कहरू अधिक तौल तथा मोटोपन र ८ लाख बढी मानिस कुपोषित रहेको उल्लेख छ ।
वैज्ञानिकका अनुसार जलवायुलाई असर पुर्याउने हरीतगृह ग्यास मध्ये मिथेन ग्यास जनवारका मासु प्रयोग गर्नाले बढी उत्सर्जन हुने जलवायु विद्ध युगान मानन्धरले बताउनुभयो ।
हिमालयन शेर्पावासीका लागि आफ्नो क्षेत्र वरपर कुनै जीवजन्तु हानी नोक्सान तथा काटमार नगर्नु एक सामान्य व्यवहार हो यसका साथै सकेसम्म शाकाहारी खानपानलाई प्रोत्साहन गर्दछन् स्थानीयवासी ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/06/image-5.png)
स्थानीय क्षेत्रमा प्लास्टिक बोतल जस्ता बस्तु प्रयोग तथा ओसारपसारलाई निरुत्साहित गर्न स्थानीय सचेत देखिन्छन् । पानी, फोहोर मैला र वातावरण स्वच्छ राख्न समूह मार्फत विभिन्न काम भइरहेको र प्लास्टिकहरूको पुनः प्रयोग अबको योजना रहेको सगरमाथा प्रदूषण नियन्त्रण कमिटीका अध्यक्ष आङ दोर्जे शेर्पाले जानकारी दिनुभयो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/06/IMG_20220422_110425-1024x768.jpg)
स्थानीय क्षेत्रमा आवश्यक वातावरण मैत्री डस्वीन छन् । यस क्षेत्रमा १ सय ९ फोहोर मैला सङ्कलनका लागि ढुङ्गा र माटोबाट निर्मित साना डस्वीन घर र शौचालय छन्। स्थान,माटो,प्रकृति बुझेर काम गर्नाले वातावरण संरक्षणमा स्थानीयवासी सफल भएको राष्ट्रिय सभा सदस्य सोनाम शेर्पाको तर्क छ ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/06/IMG-20220426-WA0035-1024x768.jpg)
स्थान, माटो, प्रकृति बुझेर काम गर्नाले वातावरण संरक्षणमा स्थानीयवासी सफल भएको राष्ट्रिय सभा सदस्य सोनाम शेपाको तर्क छ । “हामी बाह्य देशबाट सिक्छौँ, सिक्नु नराम्रो होइन तर स्थानीय मान्यता, स्थानीय विशेषता हावापानी अनुसार काम गर्दा सफल हुने रहेछौँ, हामीले ठाउँ विशेष काम गर्यौ, यहाँको संस्कार, चालचलन, धार्मिक विश्वास जुन अपनाएका छौ यसले यहाँको वातावरण संरक्षणमा सफल भएका छौँ।”
बौद्ध संस्कृति र प्रकृतिसँगको व्यवहार पक्षको मेल हुने कुरालाई सगरमाथा राष्ट्रिय निकुञ्जको सङ्ग्रहालयमा दस्ताबेजीकरण गरेको पाइन्छ ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/06/IMG_20220424_110448-1024x768.jpg)
परम्परागत ज्ञान–वैज्ञानिक सम्बन्ध
आदिवासीले प्रयोग गदै आएका परम्परागत ज्ञान तथा सीपभित्र सामाजिक विज्ञान भेट्न सकिने जलवायुविद् युगान मानन्धर बताउनुहुन्छ । आदिवासी ज्ञान सीप र प्रयासहरूको खोज अनुसन्धान तथा दस्ताबेजीकरणमा आजको विज्ञान चुकिरहेको उहाँको भनाई छ ।
विश्वका ३ सय ७० लाख बढी आदिवासी जनजातिका परम्परागत ज्ञान, दृष्टिकोण र आविष्कारहरूलाई ध्यानमा राखे बलियो, प्रभावकारी रुपमा जलवायु अनुकूलनमा योगदान दिन सक्ने अन्तर्राष्ट्रिय आदिवासी जनजाति फोरमले औँल्याएको छ ।
आदिवासी जनजाति र स्थानीय समुदायद्वारा २५ प्रतिशत उष्ण प्रदेशीय वन कार्बनको व्यवस्थापन गर्न योगदान पुग्ने प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसीएन) को तथ्याङ्क छ ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/06/IMG_20220422_094857-1024x768.jpg)
नेपाल सरकारको तत्कालिन विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको एक अध्ययनले नेपालका आदिवासी, स्थानीयको अनुभव, व्यवहार तथा ज्ञानलाई वैज्ञानिक रुपमा आत्मसात् गर्न सके पर्यावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएको छ ।
प्रकृति माथीको मानवीय व्यवहारका कारण उत्पन्न संकट र आज र भविष्यमा पनि विश्वले सामना गर्नुपर्ने समस्याहरुलाई न्यूनीकरण गर्न पुर्खौँदेखि चलिआएको वातावरण सुहाउँदो बानी व्यवहार र आचरणलाई पालना गर्दै आएका सगरमाथा क्षेत्रका स्थानीय बासीबाट जरुर सिक्न सकिन्छ ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/06/IMG_20220421_121027-1024x768.jpg)
प्रतिक्रिया राख्नुहोस्