तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला समन्वय समिति तनहुँमा काँग्रेसको पुगेन बहुमत, एमाले वा माओवादीको साथ आवश्यक

तनहुँ । जिल्ला समन्वय समिति गठनका लागि तनहुँमा कुनै पनि दलको एकल बहुमत पुगेको छैन । त्यसैले सबै दललाई तालमेल आवश्यक छ । काँग्रेसले एमाले वा माओवादी सँग तालमेल गरेर जिल्ला समन्वय समिति गठन गर्न सक्छ तर एमाले र माओवादी मिलेर पनि समिति गठन गर्न सक्दैनन् ।

नेपाली काँग्रेसले तनहुँमा एकल जिल्ला समन्वय समिति गठन गर्न नसक्ने भएको छ । निर्वाचन परिणामअनुसार तनहुँको जिल्लासभामा काँग्रेसको एकल बहुमत नपुग्ने भएको हो ।

संविधानले जिल्लाभरका स्थानीय तहका प्रमुख र उपप्रमुख सदस्य रहने जिल्लासभाको व्यवस्था गरेको छ । जिल्लासभाले १ जना प्रमुख, १ जना उपप्रमुख र कम्तीमा १ जना दलित वा अल्पसङ्ख्यकसहित बढीमा ९ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्नेछ ।

तनहुँमा ४ नगरपालिका र ६ गाउँपालिका छन् । जसअनुसार जिल्लासभा २० सदस्यीय हुनेछ । २० मध्ये काँग्रेसका १० जना मात्रै भएका छन् । यता एमालेको ६ र माओवादी केन्द्रको ४ जना रहेको छ ।  

काँग्रेसबाट जिल्लासभामा व्यास नगरपालिकाका प्रमुख र उपप्रमुख, भानु नगरपालिकाका प्रमुख र उपप्रमुख, शुक्लागण्डकी नगरपालिकाका प्रमुख, ऋषिङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाका अध्यक्ष, बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष र म्याग्दे गाउँपालिकाका उपाध्यक्ष गरी १० जना रहनेछन् ।

यस्तै नेकपा एमालेबाट भिमाद नगरपालिकाका प्रमुख र उपप्रमुख, घिरिङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, बन्दीपुर गाउँपालिकाका अध्यक्ष र म्याग्दे गाउँपालिकाका अध्यक्ष गरी ६ जना रहनेछन् ।

यतै माओवादी केन्द्रबाट आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख र देवघाट गाउँपालिकाका उपाध्यक्ष रहनेछन् ।

२० सदस्यीय जिल्लासभामा एकल बहुमत नहुने भएकाले काँग्रेसले जिल्ला समन्वय समितिको लागी नेकपा एमाले वा गठबन्धन कै माओवादी केन्द्रको सहयोग आवश्यक रहन्छ । जिल्ला समन्वय समितिका लागी ११ सिट आवश्यक हुन्छ ।

त्यसैले काँग्रेसलाई तालमेलको आवश्यकता रहन्छ ।

जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यका लागि उम्मेदवार हुन पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूले पाउँछन् भने मतदान गर्न पालिका प्रमुख र उपप्रमुखले मात्र पाउने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button