तपाईँ सुन्दै हुनुहुन्छः

जापानमा नेपाली विद्यालय : दोस्रो व्याज एसइई दिँदै 

काठमाडौँ । वैशाख ९ गतेदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइईमा जापानमा खुलेको नेपाली विद्यालयका विद्यार्थीहरू समेत सहभागी छन् ।

नेपालको शिक्षा मन्त्रालयको अनुमतिमा जापानको टोकियोमा नेपाली समुदायलाई लक्षित गरी १० वर्षअघि स्थापना भएको एभरेष्ट इन्टरनेशनल स्कुलबाट एसइईमा १९ जना नेपाली विद्यार्थी सहभागी भएका हुन ।

 जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट १९ जना नेपाली विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् ।

जापानस्थित नेपाली दूतावासमार्फत उत्तर पुस्तिका पहिले नै पठाएको छ भने प्रश्न पत्र चाहिँ हरेक परीक्षा हुने दिन अनलाइनबाट पठाउने व्यवस्था एसइई परीक्षा नियन्त्रण कार्यालयले गरेको छ । 

त्यसैगरी, एसइई परीक्षाका लागि विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ । परीक्षा केन्द्रमा नेपाली दूतावासले पनि अनुगमन गर्दै आएको  छ । उक्त विद्यालयमा नेपाल सकारबाट स्वीकृत पाठ्यक्रम लागु गरिएकाले नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डको कार्य तालिका अनुसार नै परीक्षा सञ्चालन भएको हो ।  

राष्ट्रिय परीक्षा बोर्ड मातहतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का कामु परीक्षा नियन्त्रक अर्जुन रायमाझीले उत्तर पुस्तिका दूतावासमा राख्ने गरेको र परीक्षा सकेपछि नेपाल ल्याउने जानकारी दिनुभयो । 

नेपालबाट अध्ययन र रोजगारीका लागि जापान पुगेका अभिभावकका बालबालिकालाई नेपालकै शिक्षा दिने उद्देश्यले स्थापना भएको सो विद्यालयबाट एसइई परीक्षा दिन पाउँदा विद्यार्थीहरू उत्साहित भएका छन् । 

विद्यालयका प्रधानाध्यापक विष्णु भट्टका अनुसार हाल जापानमा करिब एक लाख नेपाली रहेका छन् । कक्षा १ देखि १० कक्षासम्म नेपालकै पाठ्यक्रम पढाइ हुने विद्यालयमा जापानका प्रसिद्ध विश्वविद्यालयका प्राध्यापक, शिक्षाविद् तथा विद्यार्थीहरू नेपालको शिक्षा, संस्कृति र पर्यटनबारे अध्ययन अनुसन्धान गर्न आउने गरेको विद्यालयका प्रधानाध्यापक भट्ट बताउनुहुन्छ  । 
आफ्नै भवन रहेको उक्त विद्यालयमा नेपालमा लामो समय शिक्षण पेसा गरेका शिक्षकहरूले पढाइरहेका छन् । त्यहाँ अहिले कक्षा दस सम्म गरी ३ सय २५ विद्यार्थी रहेका छन् । एभरेष्ट स्कुलले नेपालीहरूको बाहुल्यता रहेको सिन्जु शहरको नजिकै एउटा किन्डर गार्डेन शाखा पनि सञ्चालन गरेको छ । 

नेपाली शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने सन्दर्भमा जापानमा खुलेको यस विद्यालयले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ साथै विदेशी भूमिमा रहेर पनि नेपालकै शिक्षा पढ्न पाउनु गौरवको विषय पनि हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button