अख्तियारद्वारा भिमदत्त नगरपालिकाबाट महाकाली नदी रोयल्टी ठेक्काका कागजपत्र नियन्त्रणमा

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट महाकाली नदी रोयल्टी ठेक्का सम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ ।
नेकपा (एकीकृत समाजवादी)का प्रदेश कमिटी सदस्य खेम भण्डारीले भीमदत्त नगरपालिका सम्बद्ध अधिकारीहरूलाई तत्काल निलम्बनको माग गर्दै सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।
आयोगले भीमदत्त नगरपालिकाबाट आवश्यक कागजपत्र नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले बताउनु भएको छ।
नेता भण्डारीले महाकाली नदीको रोयल्टी ठेक्कामा राज्य कोषमा ३ करोड ३३ लाख रुपैयाँभन्दा धेरै नोक्सानी पुर्याइएको दाबीसहित सोमबार हुलाकमार्फत आयोगमा उजुरी दिएका थिए ।
यसअघि भण्डारीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने नाममा भीमदत्त नगरपालिकाले एक करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको उजुरी दिएका थिए । उनको उजुरीपछि अख्तियार कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्