सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपमा आरोप पत्र दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपमा कैलालीको मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीसहित १४ जना र एक निर्माण सेवा र सोका प्रोप्राइटरविरुद्ध आरोप पत्र दायर गरेको छ ।
आयोगले मोहन्याल गाउँपालिका, कैलालीका अध्यक्ष स्वर्गीय नबल सिंह रावल, उपाध्यक्ष पुजादेवी बुढामगर, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत समेत १४ जना उपर ५४ लाख १८ हजार ५६८ रुपियाँ राजस्व चुहावट गरी सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको अभियोगमा विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यस्तै आयोगले न्यू वडिमालिका निर्माण सेवा र सोका प्रोप्राइटर मकरबहादुर शाह विरुद्ध ५६ लाख ३ सय ४८ रुपियाँ सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा आरोप पत्र दायर गरेको छ ।
मोहन्याल गाउँपालिका, कैलाली भएर बग्ने पत्थर गढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको बिक्रीकर सङ्कलनसम्बन्धी बोलपत्र बिक्री भएकोमा मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू वडिमालिका निर्माण सेवाका ठेकेदारबिच मिलेमतोमा सम्झौता भई भ्रष्टाचार गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्