तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक दलको बेवास्ताको कारण दलित समुदायको अधिकार कुण्ठित 

कपिलवस्तु । दलित समुदायको समस्यालाई राजनीतिक दलहरूले बेवास्ता गरेको कारण दलित अधिकार कुण्ठित भएको एक कार्यक्रमका सरोकारवालाले बताएका छन् । 

कपिलवस्तुको तौलिहवामा आयोजित दलित समुदायको सवाल र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले राज्यले जातीय विभेद र छुवाछुत अन्त्यको कानुन निर्माण गरेपनि व्यवहारमा कायम रहेकाले कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताएका थिए । 

कपिलवस्तु जिल्लामा दलित समुदायका सवाल, समस्या समाधानको चुनौती र आवश्यकताबारे छलफल गर्दै दलित समुदायको अधिकार सुनिश्चितताको लागि राजनीतिक दलहरूका नेतृत्वको सोच र व्यवहार बदल्नुपर्ने समेत बताएका थिए । 

१३ प्रतिशत भन्दा बढी दलित समुदाय बसोबास रहेको कपिलवस्तुमा गरिबी, बेरोजगार, अशिक्षा, बालविवाह, दाइजो प्रथा, विभेद, छुवाछुत, लैगिंक हिंसा जस्ता घटनाले दलित समुदायको अधिकार हनन भएको बताएका थिए । 

कार्यक्रममा दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरन रैदासले अवधारणा पत्र प्रस्तुत गर्दै सङ्घीय संरचनामा मुलुक गएपनि दलित समुदायको अधिकार र सशक्तीकरणमा समाजमा अनेकौँ समस्याहरू विद्यमान रहेको बताउनुभयो । जातीय विभेद, छुवाछुत र हिंसा कुनै पनि धर्म र जातका आधारमा नभई मानवीय व्यवहारले सिर्जना गरेको समस्या भएकाले हरेक व्यक्तिले सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिइएको थियो । 

कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य रामलखन हरिजनले सरकारले कानुन निर्माण गरेर जातीय विभेद र छुवाछुत गर्ने व्यक्तिलाई कडा भन्दा कडा कारबाही गर्ने र सम्बन्धित दलले कारबाही गर्ने कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले जातीय विभेद र छुवाछुतका मुद्दामा प्रहरी प्रशासनले यर्थात घटनालाई नबङ्गाई पीडितलाई न्यायको लागि विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।   
कार्यक्रममा महिला समूह, किशोरी सञ्जाल, राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घसंस्था, प्रहरी, वकिल, पत्रकार लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button