लामो समयदेखि अवरुद्ध टाक्टोर–लामाजुरा सडक निर्माण सुरु
सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीदेखि लिखुपिके गाउँपालिका हुँदै राजधानी काठमाडाँै जोड्ने टाक्टोर–लामाजुरा सडक ट्र्याक ओपन सुरु गरिएको छ ।
लामो समय वन क्षेत्रको विवादका कारण रोकिएको सडक ट्र्याक खेल्नेको काम सरकारले २.५७ हेक्टर जग्गा सडकका लागि उपभोग गर्न दिने निर्णय गरेसँगै ट्र्याक खोल्नको लागि बाटो खुलेको थियो ।
सडक खोल्न सुरु गर्नुअघि सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २ स्थित टाक्टोर सामुदायिक वन क्षेत्रको २.५७ हेक्टर जग्गा नगरपालिकालाई भोगाधिकार दिने र ३ सय ५५ वटा रुख हटाउने गरी वन तथा भू-संरक्षण विभागसँग सम्झौता भएको थियो ।
सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले टाक्टोर–लामाजुरा सडक ट्र्याक ओपनका लागि निकै कसरत गरेको बताउनुभयो । डिपिआर, इआइए, भोगाधिकारका लागि स्वीकृति, सडकले ओगट्ने जमिन राज्यको नाममा दिनुपर्ने लगायतका लामो प्रक्रियापछि सडक विस्तार गर्न सक्ने अवस्थामा आइपुगेको उहाँले बताउनुभयो ।
उक्त महत्त्वपूर्ण सडक निर्माणले लिखुपिके–५ का वडा अध्यक्ष ङिमाछिरि लामाले आफ्नै जिल्लाको सदरमुकाम पुग्नका लागि अर्को जिल्ला घुमेर जानुपर्ने समस्याको अन्त्य हुने बताउनुभयो ।
लिखुपिकेका नागरिक सदरमुकाम सल्लेरी आवतजावत गर्नका लागि रामेछाप, सिन्धुली, ओखलढुङ्गा घुमेर आउनुपर्ने बाध्यता छ । लामो समयदेखि विस्तार रोकिएको सडकको काम सुरु भएपछि लिखुपिकेबासीले खुसी व्यक्त गरेका छन् ।
लिखुपिके–५ का सुब्बा तामाङले सडक सञ्जालले सदरमुकाम र लिखुपिके जोडिनासाथ यात्राका लागि सहज हुने भन्दै खुसी व्यक्त गर्नुभयो ।
उक्त सडक निर्माण भएपछि सोलुदूधकुण्ड नगरपालिकाको टाढाको गाउँ टाक्टोरबासीलाई पनि निकै राहत पुग्ने स्थानीय बताउँछन् ।
स्थानीय सोनाम शेर्पाले सडक विस्तार र सञ्चालनले टाक्टोरका नागरिकलाई सजिलो हुने बताउनुभयो ।
टाक्टोरबाट सुरु सडक विस्तारको काम लामाजुरा पाससम्म जोड्नेछ । उक्त सडक निर्माण पश्चात् सोलुखुम्बुबाट सिधैँ काठमाण्डौसँग जोड्ने वैकल्पिक मार्गको रुपमा प्रयोगमा आउने बताइएको छ । दोलखाको जिरी हुँदै सिधैँ सल्लेरी आवतजावत गर्न सकिनेछ ।








प्रतिक्रिया राख्नुहोस्