संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास छ : सभामुख सापकोटा

सिन्धुपाल्चोक।संघीय संसद्, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गर्नु भएको छ ।
बुधवार गृहजिल्ला सिन्धुपाल्चोको जुगल गाउँपालिका वडा नं १ र ५ जोड्ने मोटरेबर पुलको शिलान्यास पछि आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले ठूला विवादको पनि संवादबाट निकास निस्कने गरेको बताउँदै संसद्को विवाद पनि संवादबाटै समाधान हुने विश्वास व्यक्त गर्नु भयो ।
कोभिड १९, राजनीतिक र जलवायु परिवर्तनले निम्त्याएको सङ्कटका कारण यस बीचमा आम नागरिकसँग प्रत्यक्ष जोडिन र विकास निर्माणमा ध्यान दिन नसकिएको बताउँदै सभामुखले अब भने अवस्थामा केही सहजता आएको बताउनुभयो ।
बुधवार नै जुगल गाउँपालिका वडा नं ५ को चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयमा उहाँको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा सहभागी हुनु भएका सभामुख सापकोटाले शिक्षाले मानव मस्तिष्कलाई तालिम दिएर सक्रिय बनाउने र शिक्षाले नै समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
आधुनिक र सुविधा सम्पन्न विद्यालय भवनको सही सदुपयोग गर्न विद्यालय परिवार र सम्बद्ध पक्षलाई सभामुख सापकोटाको सुझाव थियो । छिमेकी देश चीन सरकारको सहयोगमा निर्माण सम्पन्न रत्नराज्य माध्यमिक विद्यालय देशकै नमुना विद्यालय मध्यको एक सामुदायिक विद्यालय हो । सो अवसरमा विद्यालय परिवार र व्यवस्थापन समितिका तर्फबाट सभामुख सापकोटालाई विद्यालय भवन निर्माणको विशेष पहल र प्रयत्नका लागि आभार व्यक्त गर्दै संरक्षणका लागि समेत पहल हुने विश्वास व्यक्त गरिएको थियो ।
सभामुख सापकोटा बुधवार दिउँसो जुगल गाउँपालिका वडा नं २ ले गोल्चे बगरस्थित बडा कार्यालय परिसरमा आयोजना गरेको ‘जनतासँग सभामुख’ कार्यक्रममा सहभागी हुनु भयो । सो अवसरमा उहाँले जनता आफ्ना लागि आमा सरह भएको बताउँदै जनताको भावनाको सम्मान गर्ने बताउनु भयो । आफ्ना लागि जनता भन्दा नजिकको कोहि नरहेको चर्चा गर्दै जनताकै मतका कारण आफूले हालको अवसर प्राप्त गरेको बताउनु भयो ।
सभामुख सापकोटाले बुधवार हाल स्तरोन्नति भइरहेको सहायक राष्ट्रिय राजमार्ग ‘बलेफी जलविरे कात्तिके तेम्बाथान’ सडक खण्डको बलेफी खण्ड, हाल मर्मत सम्भार भइरहेको आँपबोटे जलविरे खण्ड र कालोपत्रेको तयारी भइरहेको ढाँडे कात्तिके खण्डको प्रमुख जिल्ला अधिकारी बेधनिधि खनाल, सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन सुवालसहित सम्बद्ध अधिकारीहरूको उपस्थितिमा निरीक्षण गर्नु भयो ।
उहाँले बागमती प्रदेश पूर्वाधार कार्यालयका प्रमुख राजु श्रेष्ठसहितका सडक निर्माणमा संलग्न अधिकारहरूसँग निर्माणको अद्यावधिक अवस्थाबारे जानकारी लिएपछि तोकिएको समय सीमा भित्रै गुणस्तरीय निर्माण सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्