अनलाइन पत्रकारितालाई जिम्मेवार बनाउन आचारसंहिता अभिमुखीकरण
काठमाडौँ । प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने भएको छ । काउन्सिलको पछिल्लो अभियानअन्तर्गत अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्य रूपमा अभिमुखीकरणमा सहभागी हुने कार्यक्रम ल्याएको हो ।
काउन्सिलले आचारसंहिता र विभिन्न निर्देशिकाबारे सञ्चारमाध्यमलाई जानकारी दिने उद्देश्यले नियमित रुपमा अभिमुखीकरण सुरु गरेको हो । सोही शृङ्खलाअनुरूप आज प्रेस काउन्सिल नेपालमा अभिमुखीकरण सञ्चालन गरिएको थियो ।
सो अभिमुखीकरणमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले विभिन्न जिल्लामा आचारसंहिता जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले नयाँ अनलाइन सूचीकरण हुँदा अनिवार्य रुपमा आचारसंहिता अभिमुखीकरणमा सामेल हुनुपर्ने अभ्यासले सचेतना बढ्ने विश्वास प्रेस काउन्सिलले लिएको बताउनुभयो ।
पत्रकारितालाई थप मर्यादित गराउन अनुगमन र कारबाही मात्रभन्दा पनि आचारसंहिता शिक्षा जरुरी रहेकाले काउन्सिलले यस कार्यक्रमको थालनी गरेको अध्यक्ष बस्नेतले बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले महासङ्घ र प्रेस काउन्सिलले संयुक्त रूपमा जारी गरेको आचारसंहिता पत्रकारको मूल मन्त्र भएको बताउनुभयो ।
उहाँले पत्रकारको निश्चित उद्देश्य र चरित्र हुने भएकाले समाजमा पत्रकारिताका माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्दै असल चरित्र निर्माणका लागि ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो ।
आजको अभिमुखीकरणमा विज्ञका रुपमा प्रस्तुति दिँदै राससका प्रधान सम्पादक एकराज पाठकले पत्रकार आचारसंहिताको पालनाबाट मात्रै स्वच्छ र मर्यादित पत्रकारिताको प्रवर्द्धन हुने बताउनुभयो ।
त्यस्तै अभिमुखीकरण कार्यक्रमका अर्का विज्ञ नेपाल पत्रकार महासङ्घका पूर्व उपाध्यक्ष अनिता विन्दुले काउन्सिलले जारी गरेको विभिन्न निर्देशिकाबारे जानकारी दिँदै आचारसंहिताले समेट्न नसकेका कुरा निर्देशिकामा आएको बताउनुभयो ।
काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले नयाँ सूचीकृत हुन आउने अनलाइन सञ्चारमाध्यमलाई पत्रकार आचारसंहिताका बारेमा जानकारी दिँदा यसले उहाँहरूलाई आगामी दिनमा पत्रकारिता गर्दा पनि यस विषयमा सजग बनाउने भएकाले नियमित रुपमा अभिमुखीकरण राखिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्