बन्दीपुरको गाउँ ब्लकमा रहेका ४६ घरपरिवारलाई लालपुर्जा वितरण
तनहुँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तनहुँको गाउँ ब्लकमा रहेका भूमि विहीनहरूलाई आज जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्नुभएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिकाको गाउँ ब्लकमा रहेका ४६ घरपरिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले केही समयभित्रै भूमिहीन, सुकुम्वासी र भूमिहीन दलितले जग्गाको लालपुर्जा पाउने गरी राष्ट्रिय भूमि आयोग मार्फत काम भइरहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमानदार भएर लाग्न आग्रह गर्नुभयो ।
मन्त्री श्रेष्ठले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम शुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमिसम्बन्धी समस्या दिगो रुपमा नै समाधान गर्न आफू लागिरहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि सहिद, बेपत्ता परिवारका छोराछोरी, हरुवा चरवा र वादी समुदायका युवा तथा उनीहरूका सन्तानलाई विशेष नापीको तालिम शुरु गर्न लागिएको पनि बताउनुभयो ।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी, चितवन, काठमाडौँको कीर्तिपुर नगरपालिका र भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको गाउँ ब्लकमा रहेका भूमि विहीनहरूलाई लालपुर्जा वितरण गरिसक्नुभएको छ ।
मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेयता हालसम्म देशभरका गाउँ ब्लकमा रहेका १५ हजार बढी घरपरिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ ।
२०२१ साल यता जग्गाको नापी हुँदा गाउँ ब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जा विहीन बनिरहेकाहरूलाई लालपुर्जा वितरण अभियान तीव्र पारिएको छ ।








प्रतिक्रिया राख्नुहोस्