तपाईँ सुन्दै हुनुहुन्छः

साढे दुई वर्षमा धौलिगाडको पानी घरघरमा पुग्छ : मन्त्री चौधरी

जुम्ला । खानेपानी मन्त्री उमाकान्त चौधरीले बृहत् धौलिगाड खानेपानी आयोजनाको पानी साढे दुई वर्षभित्र जुम्लावासीका घरघरमा पुग्ने बताउनुभएको छ । 

बृहत् धौलिगाड खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री चौधरीले आयोजना निर्माण निर्धारित समयभित्र सकेर साढे दुई वर्षमा जुम्लावासीका घरघरमा शुद्ध खानेपानी पुर्‍याउने प्रतिबद्धता गर्नुभएको हो ।
 २०६६ सालदेखि निर्माण सुरु भए पनि बजेट अभाव तथा प्रक्रिया नमिलेका कारण आयोजना अलपत्र अवस्थामा थियो । 

मन्त्री चौधरीले विशेष चासो राखेपछि अर्थ मन्त्रालयले बहवर्षीय ठेक्का आह्वानका लागि सहमति दिएपछि शनिवार आयोजनाको शिलान्यास भएको छ ।  

आयोजना निर्माणको कार्यकालाई यथाशीघ्र गति दिन समेत मन्त्रालयका सचिव र महानिर्देशकलाई समेत मन्त्री चौधरीले निर्देशन दिनुभयो । १ अर्ब २६ करोड लागतको आयोजनाको पहिलो चरणको टेण्डर भइसकेकोले निर्माणको काम थालनी हुने उल्लेख गर्नुभयो । 

कर्णाली प्रदेशको मात्र नभई हिमाली जिल्ला मध्यकै ठुलो र लामो प्रसारण वितरण लाइन भएको आयोजना भएकोले यस आयोजनलाई पूर्णता दिन आफु प्रतिबद्ध रहेको उहाँको भनाई छ । 

मन्त्री चौधरीले नेपालको संविधान २०७२ को धारा ३५ को उपधारा ४ ले हरेक नेपाली नागरिकलाई स्वच्छ खानेपानीको हकको व्यवस्था गरेकोले सोही जुम्लाका नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुराउन धौलिगाड खानेपानी आयोजना निर्माणमा विशेष चासोका साथ लागि परेको बताउनुभयो । 

आफु स्वास्थ्य मन्त्री हुँदा जुम्लामा कर्णाली प्रतिष्ठान स्थापना गरेको भन्नुहुँदै खानेपानी मन्त्री हुँदा बृहत् धौलिगाड खानेपानी आयोजना शिलान्यास र निर्माण गर्ने अवसर पाएको प्रति खुसी व्यक्त गर्नुभयो । 
 त्यस्तै, कर्णाली प्रदेशका पूर्व कानुन मन्त्री तथा सांसद नरेश भण्डारीले धौलिगाड खानेपानी आयोजना विकासको क्षेप्यास्त्र भएको बताउनुभयो । 

२०६४ निर्वाचन जितेपछि कर्णाली प्रतिष्ठान स्थापनासँगै धौलिगाड खानेपानी आयोजना निर्माणको पहल गरेका भण्डारीले नै गर्नुभएको थियो । 

धौलिगाड आयोजना निर्माण पश्चात् जुम्लाका नागरिकले पर्याप्त पानी प्रयोग गर्न पाउने र बिक्री समेत गरेर आर्थिक भित्राइने उहाँको भनाई छ ।

खानेपानी मन्त्रालयका महानिर्देशक सुर्यराज कँडेलले उक्त आयोजनाबाट जुम्लाका चन्दननाथ नगरपालिका सहित तातोपानी र हिमा गाउँपालिकाका १२ हजारभन्दा बढी घरधुरीका ५९ हजारभन्दा बढी नागरिक लाभान्वित हुने बताउनुभयो । 

वर्षको ९ महिना हिउ जम्ने ठाउँमा २ सय ७० किलोमिटर लामो प्रशासन र वितरण लाइन भएको पहिलो योजना भएकोले यसलाई विशेष महत्त्वका साथ हेरिएको उल्लेख गर्नुभयो । 

आयोजनाबाट लाभान्वित चन्दननाथ नगरपालिकासहित तातोपानी र गुठिचौर गाउँपालिकाले १ करोड ४६ लाख बजेट लगानी गरेका छन् । जसमा चन्दननथाले ५० लाख, तातोपानीले ५० लाख र गुठिचौरले ४६ लाख धौलिगाड आयोजना निर्माणका लागि लगानी गरेका छन् । 

धौलिगाड आयोजना तदर्थ समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले लामो संर्षघ र प्रयासपछि धौलिगाड आयोजनाले मूर्तरूप पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

कर्णालीकै ठुलो खानेपानी आयोजना निर्माण पश्चात् जुम्लावासीका खानेपानीबाट हुने दुखबाट मुक्ति पाउने उहाँको विश्वास छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button