तपाईँ सुन्दै हुनुहुन्छः

तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन : अध्यक्ष प्रचण्ड

लुम्बिनी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले  आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

उहाँले चुनावमा आफ्नै सङ्गठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो प्राथमिकतामा राख्न समेत कार्यकर्तालाई आग्रह गर्नुभएको छ । 

प्रेस सङ्गठन लुम्बिनीद्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । 

उहाँले निर्वाचनमा तालमेल गर्ने र अधिकतम परिणाम निकाल्ने कुरालाई सहायक प्राथमिकतामा राखेर निर्वाचन तयारीमा लाग्न आग्रह गर्दै निर्वाचनका बारेमा कुनै आशङ्का नगर्न समेत आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले सरकारमा सहभागी पाँच दलीय गठबन्धन नै निर्वाचनसम्म जोगाएर लैजाने पक्षमा रहेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “अहिले हामी गठबन्धनमा छौँ । तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन ।”

पूर्व प्रधानमन्त्री दाहालले काँग्रेसका केही नेताले माओवादीसँग गठबन्धन हुँदैन भने पनि प्रधानमन्त्री देउवाले भने यो गठबन्धनलाई बचाएर लैजाने पक्षमा रहेको रहेको जनाउँदै भन्नुभयो, “काँग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।”

उहाँले चुनाव हुन्छ वा हुँदैन भन्ने आशङ्का अवस्था अझै व्याप्त रहेको जनाउँदै आफूहरू चुनावको तयारीमा पूरै तागत लगाएर गइसकेको बताउनुभयो । 

पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहितका नेतासँगै पत्रकार सम्मेलनमा आउनुभएका अध्यक्ष दाहालले पार्टीभित्र एमसिसीका कारण उत्पन्न विवाद समाधान भइसकेको र आफूहरू एक ढिक्का भएर चुनावी अभियानमा हिँडिरहेको बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button