तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली प्रतिनिधिमण्डलबाट दुबईको तडवीर सेन्टरको अवलोकन

काठमाडौँ।संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाबाट जानकारी लिएको छ ।

प्रतिनिधिमण्डलले बुधवार दुबईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्था (तडवीर सेन्टर) मा भ्रमण गरी घरेलु कामदारको कार्यस्थल अवस्था, कानुनी व्यवस्था, पारिश्रमिक, बिदा, सामाजिक सुरक्षा, हिंसामा पर्न सक्ने जोखिम तथा सुरक्षाको प्रत्याभूतिलगायतबारे जानकारी लिएको श्रममन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा युएईका सरकारी अधिकारी तथा तडवीर सेन्टर सञ्चालकले युएईमा घरेलु कामदारको सुरक्षा प्रत्याभूति रहेको बताएका थिए । उनीहरूले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउनु पूर्व गर्नुपर्ने तयारी, घरेलु कामदारको अधिकार तथा सुरक्षाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

सरकारले २०७३ सालदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि अवैध बाटोबाट जाने क्रम रोकिएको छैन । हालै सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ ।

कानुनी बाटोबाट कामदार पठाउँदाभन्दा गैर कानुनी बाटोबाट जाँदा जोखिम बढेकाले कामदारलाई सुरक्षित र वैधानिक तरिकाले काम गर्ने वातावरण मिलाउनुपर्ने आवाज पनि उठेको छ । मन्त्री श्रेष्ठले घरेलु कामदारका रुपमा जाने श्रमिकलाई सुरक्षाको प्रत्याभूति दिने र व्यवस्थित बनाउनेबारे सरोकारवलासँग छलफल गर्दै आउनुभएको छ । मङ्गलवार नेपाल–युएई संयुक्त समितिको बैठकमा पनि यसबारे छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button