तपाईँ सुन्दै हुनुहुन्छः

मेयरकप भलिबलको उपाधि सल्यानलाई

अछाम । अछामको कमलबजार नगरपालिकाले आयोजना गरेको खुल्ला मेयरकप पुरुष भलिबल प्रतियोगिताको उपाधि सल्यानले हात पारेको छ । फाइनल खेलमा गन्यापधुरा गाउँपालिका डडेलधुरालाई पराजित गर्दै थ्री स्टार क्लब बनगाड कुपिण्डे नगरपालिका सल्यानले उपाधि हात पारेको हो ।

उपाधि हात पारेसंगै सल्यानले नगद १ लाख ११ हजार १ सय ११ सहित मेडल र प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा दोस्रो स्थान हात पारेको गन्यापधुरा गाउँपालिका डडेलधुराले ७१ हजार १ सय ११ प्राप्त गर्‍यो । यस्तै बान्नीगढी जयगढ गाउँपालिका तेस्रो भएको छ भने आठबिस नगरपालिका दैलेखले सान्त्वना स्थान हात पारेको छ ।

तेस्रो भएको बान्नीगढीले ३१ हजार १ सय ११ नगद सहित मेडल, कप र प्रमाणपत्र हात पारेको छ भने सान्त्वना भएको आठबिसले ११ हजार १ सय ११ पाएको छ ।

प्रतियोगितामा जित हासिल गरेका खेलाडीहरूलाई नगद सहित प्रमाणपत्र समेत प्रदान गरिएको छ । खेलमा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।

यो सँगै फागुन २४ गतेबाट सुरु भएको मेयरकप भलिबल प्रतियोगिताको  समापन गरिएको छ । कमलबजार नगरपालिकाका कार्यवाहक नगर प्रमुख भुमिशरण ढकाल बजगाईँको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रतिनिधि सभाका सदस्य यज्ञ बहादुर बोगटी प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै सांसद बोगटीले राष्ट्रको पहिचान अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन राज्यले खेलाडीहरूमा लगानी गर्नुपर्ने बताउनुभयो । खेलकुद राष्ट्रको पहिचान भएकाले तिन वटै तहका सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्नुपर्ने बताउनुभयो ।

खेलकुद क्षेत्रलाई सक्रिय पार्नका लागी खेलाडीहरूलाई प्रोत्साहनका कार्यक्रम गर्न सके खेलकुद क्षेत्र थप चलायमान हुने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button