अछाममा ६० प्रतिशत नागरिकले लगाए कोभिड–१९ विरुद्धको खोप

अछाम । अछाम जिल्लामा ६० प्रतिशत नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । जिल्लाका १० वटै स्थानीय तहका गरी ६० प्रतिशत नागरिकले कोभिड विरुद्धको खोप लगाएका हुन् ।
हालसम्म २ लाख ७३ हजार ३ सय ८४ मात्रा डोज खोप जिल्ला भित्रिएकोमा २ लाख ६७ हजार २ सय २५ डोज प्रयोग भएको स्वास्थ्य कार्यालय अछामका तथ्याङ्क अधिकृत तथा सूचना अधिकारी शम्भु नारायण पन्तले जानकारी दिनुभयो । २ लाख २८ हजार ९ सय ७ कूल जनसङ्ख्या रहेको अछाममा १ लाख ३६ हजार ८ सय १३ जना नागरिकले कोरोनाको पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
त्यस्तै ३ हजार ५ सय ३६ जना नागरिकले कोभिड विरुद्धको बुस्टर डोज खोप लगाएका सूचना अधिकारी पन्तले बताउनुभयो । पहिलो चरणको खोप लगाउँदा यहाँका नागरिक उत्साहित भए पनि अहिले पहिलेका जति खोप प्रति मानिस आकर्षित नदेखिएको उहाँको भनाई छ । पछिल्लो समयमा सरकारले सार्वजनिक सेवा प्रवाहमा अनिवार्य खोप कार्ड लागू गरेपनि कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या नबढेको सूचना अधिकारी पन्तले बताउनुभयो ।
हवाई सेवा लिन, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन र सार्वजनिक भेला, गोष्ठीमा सहभागी हुन अनिवार्य रूपमा खोप कार्ड बोक्नुपर्ने नियम सरकारले लागू गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्