बागमती प्रदेशमा ९२ प्रतिशत बढीले लगाए कोरोना विरुद्ध पूर्ण खोप

मकवानपुर।बागमती प्रदेशमा बिहीबार सम्ममा ९२ प्रतिशत भन्दा बढीले कोरोना विरुद्धको पूर्ण अर्थात् दोस्रो मात्रा खोप लगाएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लामा गरी कुल ९२ दशमलव एक प्रतिशतले पूर्ण खोप लगाएका हुन् ।
मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बागमती प्रदेशमा पछिल्ला दिनमा कोरोना विरुद्धको खोप लगाउनेको सख्या निकै बढेको बताउनुभयो । कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले अनिवार्य खोप कार्ड लागु गरेसँगै खोप लगाउनेको सख्या बढेको उहाँले बताउनुभयो । यस्तै प्रदेश सरकारले गाउँ गाउँमा खोप अभियान नै सञ्चालन गरेका कारण पनि सफलता मिलेको बताउनुभयो । यस्तै प्रदेशमा अहिले कोरोना भाइरस सङ्क्रमणका बिरामी समेत घट्दै गएको जानकारी दिनुभयो ।
त्यस्तै बागमती प्रदेशमा पहिलो मात्र खोप लगाउने ९५ दशमलव ८ प्रतिशत रहेको साथै आठ दशमलव ७ प्रतिशतले बुष्टर डोज खोप लगाएको उहाँले बताउनुभयो । यस्तै प्रदेशमा १२ देखि १७ वर्ष सम्मका ४३ दशमलव ५ प्रतिशतले पहिलो र २२ दशमलव ५ प्रतिशतले दोस्रो अर्थात् पूर्ण खोप लगाएका छन् । खोप अभियानलाई प्रदेशका १३ वटै जिल्लामा तीव्रता दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्