तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका सामुदायिक विद्यालयको दुरावस्था

सल्यान । शारदा नगरपालिका–१० पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालयको छाना हावाले उडाएको दुई वर्ष भयो । एक देखि पाँच कक्षा सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा ६३ जना बालबालिका अध्ययनरत छन् । छाना उडाएको दुई वर्ष भइसक्दा पनि मर्मत नभएपछि बालबालिका भुईँको चिसोमा बसेर पढ्न बाध्य छन् । 

शारदा नगरपालिका–९ बागचौरमा रहेको कृष्ण आधारभूत विद्यालयको कक्षा कोठामा डेस्क बेन्च होइन ठुला ठुला खाडल छन् । जीर्ण भवन, खानेपानीको अभाव र ती खाडलमै बसेर साना बालबालिका पढ्नु पर्ने बाध्यता । 

बनगाड कुपिण्डे नगरपालिकाको महादेव आधारभूत विद्यालयका बालबालिकाको अवस्था पनि यो भन्दा फरक छैन । भवन जीर्ण हुँदा ठुलो हावाहुरी र पानी आएको समय भवन भत्किने डरले बालबालिका विद्यालय नै आउँदैनन् । यी त केही उदाहरण मात्र हुन । 

सल्यानका सामुदायिक विद्यालय मध्य अधिकांश विद्यालयको अवस्था दयनीय रहेको छ । जीर्ण विद्यालय भवन, शौचालय जीर्ण, खानेपानीको अभाव, घेरवार नहुँदा समस्या त छ नै । तर त्यो भन्दा ठुलो समस्या यहाँ अध्ययनरत बालबालिकाको पुस माघको जाडोमा कसरी पढ्ने भन्ने चिन्ता छ ।

पुस महिनाको चिसो, छाना नभएको विद्यालय भित्र पढ्न बसेका बालबालिका कोठा भित्रै आधा कार्पेट राखेर जता घाम त्यतै बसेर पढ्ने गर्छन् । विद्यालयमा न त बस्ने बेच्न छन् न त छाना । खुला आकाश र भुईँको चिसोले गर्दा  बालबालिका बिरामी समेत हुने गरेको जनता प्राथमिक विद्यालयका कक्षा ५ मा अध्ययनरत सुशील विकले बताए । 

छाना नहुँदा चिसो हुने, पढ्न मन नलाग्ने पानी परेको बेला विद्यालय आउन बन्द हुने गरेको कक्षा ४ मा अध्ययनरत लक्ष्मी विकको भनाई छ । उनले भनिन ‘चिसोमा पढ्न मनै लाग्दैन, कति बेला घण्टी बज्ला र बाहिर घाम ताप्न जाउला जस्तो हुन्छ । सरहरुले भित्र बसेर पढ भन्नु हुन्छ । भित्र बसेर पढ्न सकिँदैन ।’ 

विद्यालय मर्मतका लागि सम्बन्धित निकायलाई पटक पटक जानकारी गराउँदा पनि ध्यान नदिएको जनता प्राथमिक विद्यालय शारदा नगरपालिका १० पैयाखर्कका प्रधानाध्यापक डम्बर चलाउनेले बताउनुभयो । दुई वर्ष अघि विद्यालयको छाना उडाएपछि वडा कार्यालय देखि नगरपालिका सम्म मर्मतको गुहार माग्दा पनि पहल नभएको गुनासो गरे । 

सरकारले सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षालाई जोड दिनको लागि विद्यालयमा भौतिक पूर्वाधार बलियो र प्रविधिमैत्री बनाउँदै लैजाने भनेर वर्षेनी शिक्षा क्षेत्रमा पर्याप्त मात्रामा बजेट विनियोजन गदै आएको भए पनि जीर्ण भएका विद्यालय भवन मर्मत गर्नमा समेत कसैको ध्यान नगएको महादेव आधारभूत विद्यालयका शिक्षक धन बहादुर डाँगीको भनाई छ । 

२०३७ सालमा स्थापना भएको कृष्ण आधारभूत विद्यालयमा संरचनागत रुपमा सुधार नआउँदा कक्षा ४ र ५ का विद्यार्थी एउटै कार्पेटका भर पढ्दै आइरहेका छन् । बाहिर चौरमा बसेर पढाउने वातावरण नभएको बताउँदै विद्यालयका निमित्त प्रधानाध्यापक चिन बहादुर बुढाथोकीले भने तारबार नहुँदा खुला रुपमा मानिसहरूको आवतजावत भइरहन्छ । गाईबस्तु देखि स्थानीयको कुखुरासमेत विद्यालयमा परिसरमा आउँछन् । 

विद्यालयको भौतिक संरचना सुधारका लागि वडा कार्यालय हुँदै नगरपालिकासम्म माग गर्दा समेत आश्वासन बाहेक अरू केही नपाएको उनको गुनासो छ । उनले भने ‘विद्यालयका आन्तरिक स्रोत छैन । तीन जना शिक्षक दरबन्दी र एक जना राहतमा हुनहुन्छ । बाँकी निजी स्रोतबाट शिक्षक भर्ना गरेर विद्यालय सञ्चालन गरी रहेका छौँ ।’ 

हावाले उडाएको भवनको मर्मतका लागि तीन लाख बजेट विनियोजन गरिएको शारदा नगरपालिका–१० का वडाध्यक्ष रेशम बहादुर बुढाथोकीले बताए । यसै वर्ष पुनर्निर्माण सम्पन्न गरी तीन लाख बजेट विनियोजन गरिएको उनको भनाई छ । भवनको छाना राख्नको लागि नगरपालिकामा धेरै माग गरे पनि बजेट विनियोजन नभएपछि वडामा रहेको बजेटबाट भवन मर्मत गर्न थालिएको उनको भनाई छ । 

विद्यालयमा अनुदान र लगानी बढे पनि सल्यानका अधिकांश विद्यालयमा भौतिक पूर्वाधार नै गतिलो नभएको शिक्षा विकास तथा समन्वय इकाईका इकाई प्रमुख लाल बहादुर घर्तीले बताए । सल्यानमा ४ सय ४३ प्राथमिक सामुदायिक र ५१ संस्थागत विद्यालय छन् भने ८९ वटा माध्यमिक विद्यालय छन् ।  

साबिकको जिल्ला शिक्षा कार्यालयले गर्दै आएका काम कारबाहीको सबै जिम्मेवारी स्थानीय तहमा गएकाले कार्यालयले केही गर्न नसकेको उनको भनाई छ  । जिल्लाका विद्यालयहरूमा कतै शिक्षक छन् विद्यार्थी छैनन्,  कतै विद्यार्थी छन् शिक्षक छैनन्  । विद्यार्थी र शिक्षक भएको विद्यालयमा भौतिक संरचना अभावले पढाइ प्रभावित भइरहेको छ उनले भने ।

शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई आए पनि बजेट अभावका कारण विद्यालयको पूर्वाधारलाई जोड दिन नसकेको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बताए । स्थानीय तहले वर्षेनी लाखौँ रुपैयाँ शिक्षा क्षेत्रमा विनियोजन गर्दै आएको र स्तरीय भवन निर्माण, ई हाजिरी, सिसी क्यामरा जडान, विद्यालयहरूमा ल्यापटप वितरण गर्दै आएको उनको भनाई छ  । बाँकी रहेका सामुदायिक विद्यालयका भौतिक पूर्वाधार निर्माणमा पनि जोड दिइएको नगर प्रमुख अधिकारीले बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button