दुई पक्षीय हवाई सम्झौता गर्न रुवाण्डाका राजदूतको प्रस्ताव

काठमाडौँ । रुवाण्डाका गैर आवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राख्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच अहिलेसम्म हवाई सम्झौता नभएकाले सम्झौताका लागि प्रस्ताव गर्नुभएको हो ।
भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच हवाई सम्झौता गरिए पर्यटन प्रवर्द्धनमा फाइदा हुने भएकाले उक्त सम्झौता गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “रुवाण्डाका पर्यटक भित्र्याउनका लागि भए पनि नेपाल र रुवाण्डाबीच हवाई सम्झौता गर्न आवश्यक छ, यो सम्झौताले दुई देशको मित्रता पनि थप कायम हुनेछ ।”
सोही भेटका क्रममा राजदूत मुकाङ्गीराले संस्कृति तथा पर्यटन क्षेत्रमा दुई पक्षीय सहयोग आदानप्रदान गर्न आग्रह गर्नुभयो ।
राजदूत मुकाङ्गीराले राख्नुभएको दुई पक्षीय हवाई उडानको सम्झौता प्रस्तावका बारेमा मन्त्री आलेले सकारात्मक रुपमा लिइएको र औपचारिक माध्यमबाट उक्त प्रस्तावको प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुई पक्षीय हवाई उडानको सम्झौता प्रस्ताव हामीले सकारात्मक रुपमा लिएका छौँ, औपचारिक माध्यम तथा छलफलबाट प्रक्रिया अगाडि बढाउने छौँ ।”
उक्त शिष्टाचार भेटका क्रममा मन्त्रालयका सचिव महेश्वर न्यौपाने तथा सहसचिव बुद्धि सागर लामिछानेको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्